logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बागमतीमा निःशुल्क आँखा शिविर सुरु, पहिलो दिन २४० जनाको परीक्षण


  • उज्यालो अभियान

बागमती, ०४ माघ – सर्लाहीको बागमती नगरपालिकामा शुक्रबारबाट बृहत आँखा परीक्षण शिविर सुरु भएको छ ।

नगरपालिका कार्यालयले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर प्रारम्भ गरेको हो । शुक्रबार पहिलो दिन बागमती नगरपालिका–९, स्थित जनजागृति प्राथमिक विद्यालय लालबन्दी टोलमा आयोजना गरिएको शिविरमा २४० जनाको आँखा परीक्षण गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पदम रायमाझीले जानकारी दिए ।

रायमाझीका अनुसार २४० जनाको आँखा परीक्षण गरिएकामध्ये ४३ जनामा मोतिया विन्दुको समस्या देखिएको छ । मोतिया बिन्दुका ति बिरामीलाई माघ १२ गतेदेखि १४ गतेसम्म बागमती नगरपालिका–५, स्थित जनता माध्यमिक विद्यालय सोल्टीमा आयोजना हुने मोतिया बिन्दुको शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रियाको प्रवन्ध मिलाइएको स्वास्थ्य शाखा संयोजक रायमाझीले बताए ।

शुक्रबारबाट सुरु भएको आँखा परीक्षण शिविर क्रमश : नगरका विभिन्न वडाका आठ स्थानमा माघ ११ गतेसम्म सञ्चालन गरिने छ । आठ ठाउँमा शिविर सञ्चालन गर्दा फेला परेका मोतिया बिन्दुका बिरामीलाई सोल्टीस्थित विद्यालयमा भेला पारेर माघ १२ गतेदेखि १४ गतेसम्म शल्यक्रियाको व्यवस्था मिलाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

बागमती नगरपालिकाले वर्षेनि गर्दै आइरहेको निःशुल्क आँखा परीक्षण शिविर तथा मोतिया बिन्दुको शल्यक्रिया कार्यक्रम यो वर्ष समेत गरी छैठौं पटक सुरु भएको हो ।

शिविरमा आँखा परीक्षण तथा मोतिया बिन्दुको शल्यक्रियाका लागि तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँबाटै चिकित्सक र प्राविधिक बागमती आइपुगेका छन् ।