पर्सा, ०४ माघ – सीमावर्ती क्षेत्रस्थित सर्लाहीको पर्सा गाउँपालिकामा आज ६८ परिवारलाई फाइबर सिरक वितरण गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीको तर्फबाट चिसोबाट प्रभावित बनेका पर्सा गाउँपालिका–३ र ५ का अतिविपन्न, गरिब र दलित गरी ६८ परिवारलाई एक–एक थान फाइबर सिरक वितरण गरिएको हो । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, अन्य सुरक्षा अधिकारी, जिल्ला प्रशासन कार्यालयका कर्मचारी, जनप्रतिनिधिलगायतको उपस्थितिमा चिसोबाट प्रभावित बनेका परिवार छनौट गरेर सिरक वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
यसअघि बिहीबार सीमावर्ती क्षेत्रमै पर्ने विष्णु गाउँपालिका–१, का ६१ अतिविपन्न परिवारलाई यसैगरी फाइबर सिरक वितरण गरिएको थियो ।