नव निर्वाचित संचालक समिति एवं लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा निर्वाचन उपसमितिका पदाधिकारीहरु ।
हरिवन, १७ पुस – हरिवन नगरपालिका वडा नम्बर ८, चापिनी स्थित हरिवन बचत तथा ऋण सहकारी संस्थाको नयाँ नेतृत्व चयन भएको छ ।
भरत कुमार कार्कीको अध्यक्षतामा सात सदस्यीय संचालक समिति तथा लोकबहादुर योगीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको हो । बागमती सेवा समाज मार्फत समाजसेवामा समेत सकृय अध्यक्ष कार्की नेकपा एकीकृत समाजवादीका नेता समेत हुन् ।
संचालक समितिमा हरिवन सिटी जेसिजका संस्थापक अध्यक्ष विनोद महत उपाध्यक्ष चयन भएका छन् भने चन्द्र बहादुर उप्रेती (दिपक) सचिब, बेद कुमारी पौडेल कोषाध्यक्ष तथा सदस्यहरुमा शारदा रम्तेल, हरिबहादुर दवाडी र मिना भ्लोन चयन भएका छन् । त्यस्तै योगीको संयोजत्व रहेको लेखा सुपरिवेक्षण समितिमा कुमारी गिता सुवेदी र अशोक थापा सदस्य चयन भएका छन् । योगी यसअघि सस्थाको कोषाध्यक्ष रहेका थिए ।
गत शनिबार सम्पन्न संस्थाको २६ औं वार्षिक साधारण सभाले नेतृत्व चयनका लागि संस्थापक अध्यक्ष कृष्ण प्रसाद सुवेदी संयोजक तथा पूर्व अध्यक्ष सुशिला कार्की र हरिवन नगरपालिकाकी पूर्व उपमेयर रेणुका पौडेल सदस्य रहेको निर्वाचन उपसमितिले सोमबार संचालक समिति र लेखा सुपरिवेक्षण समितिको टुंगो लगाएको हो । संस्थाका प्रबन्धक मधुसुदन न्यौपानेका अनुसार सञ्चालक समितिका पदाधिकारी र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुले मंगलबार पदस्थापन गरेका छन् ।
संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड ६३ लाख १९ हजार ७७६ रुपैंयाको कारोबार गर्दै ३१ लाख ९५ हजार ३०७ रुपैंया खुद मुनाफा गरेको छ । यसअघि संस्था संचालक समितिको अध्यक्षमा कृष्ण कुमारी पौडेल रहेकी थिइन् ।