प्रतियोगितामा सहभागिता जनाउँदै नेपाली सेना भैरवी दल गणका गणपति प्रमुख सेनानी सूर्य बहादुर कार्की सहित ।
पाँचकुमारी, १७ पुस – नेपाली सेना नं. ९ बाहिनी अड्डा सिन्धुलीको आयोजनामा सम्पन्न वीर स्मृति कप लन टेनिस प्रतियोगितामा सर्लाहीको भैरवी दल गण पाँचकुमारीका गणपति प्रमुख सेनानी सुर्य बहादुर कार्कीको जोडी दोस्रो भएको छ ।
सिन्धुलीमा सम्पन्न प्रतियोगितामा खुल्ला डबलतर्फ कार्की र प्रमुख सेनानी सुनिल विष्टको जोडी दोस्रो भएको हो । नं. ९ बाहिनी माझीटार ब्यारेकमा गत सोमबार सम्पन्न प्रतियोगितामा
खुल्ला डबलतर्फ महासेनानी सुमन खड्का र सेनानी आदित्य प्रताप सिंहको जोडी, भेट्रान्स सिंगलतर्फ सहायक रथी राम राणा, भेट्रान्स डबलतर्फ सागर बहादुर केसी र सेनानी आदित्य प्रताप सिंह प्रथम भएका छन् ।
प्रतियोगितामा भेट्रान्स डबल, भेट्रान्स सिंगल, खुल्ला सिंगल र खुल्ला डबलतर्फ २५ जना सैनिक र २ जना गैर सैनिक गरी २७ जना खेलाडीहरु सहभागि थिए । प्रतियोगिताको नेपाली सेना मध्य पूर्वी पृतनाका पृतनापति उपरथी सुदर्शन सिल्वालले गत शुक्रबार उद्घाटन गरेका थिए । आफ्नो देश तथा नागरिकको रक्षाका खातिर युद्धमा लड्दै जीवन त्याग गरी वीरगति प्राप्त गर्ने सकलदर्जाको सम्झनामा विगत २०७६ सालबाट नं. ९ बाहिनी अड्डाका तत्कालिन बाहिनीपति प्रदीप जंग केसीको कार्यकालबाट उक्त प्रतियोगिता सूरु भएको हो ।