मलंगवा, १२ पुस – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज सर्लाहीमा प्रादेशिक अस्पताल मलङ्गवाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
प्रदेश सरकारले दुुई करोड ५३ लाख रुपियाँ खर्चिएर निर्माण गरेको सुविधा सम्पन्न तीन तले अस्पताल भवनको मुुख्यमन्त्री सिंह र प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुुधनप्रसाद सिंहले संयुक्त रुपमा शिलालेख अनावरण गरेर उद्घाटन गरेका हुन् । अस्पताल भवनको शिलान्यास गर्दै मुुख्यमन्त्री सिंहले अस्पतालको सेवा, सुविधा र गुणस्तरमा ध्यान दिन निर्देशन दिए । उनले अहिले भएकै जनशक्तिबाट नागरिकमैत्री सेवा दिन र कुनै समस्या पर्दा सहयोगका लागि प्रदेश सरकार तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।
मुख्यमन्त्री सिंहले औपचारिक कार्यक्रमहरुमा स्वागत, सम्मानमा अनावश्यक खर्च नगर्न अनुरोध समेत गरेका छन् ।
नवनिर्मित अस्पताल भवनको भुुँई तलामा आकस्मिक कक्ष, पहिलो तलामा वार्ड, दोस्रो तलामा वर्न तथा अन्य सेवा र तेस्रो तला आवासका लागि छुट्याइएको प्रादेशिक अस्पताल मलङ्गवाले जनाएको छ । एक वर्षभित्रमै अस्पताल भवन तयार पारिएको हो ।
प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता आउने कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बताएका छन् । अस्पताल भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह, मलङ्गवा नगरपालिकाका उपप्रमुख शकुन्तला देवी साह, अस्पताल सञ्चालक समितिका अध्यक्ष सतीशकुमार साह, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जिवकुमार सिंह, स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झालगायतले मन्तव्य व्यक्त गरेका छन् ।