सोल्टी, १० पुस – सर्लाहीको बागमती नगरपालिका–१०, सोल्टीमा रहेको दिदी बहिनी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष कौशिल्या निरौलाको अध्यक्षता तथा प्रदेशसभा सदस्य जवाहारलाल कुुशवाहाको प्रमुख आतिथ्यतामा हिजो वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाले गत आर्थिक वर्ष २०८०/८१ मा एक करोड ७५ लाख ४५ हजार ७०२ रुपैयाँ कूल कारोवार गरी ७ लाख ५५ हजार ९३० रुपैयाँ खूद मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।
संस्थामा अहिले ८१६ जना शेयर सदस्य रहेकोमा सबै जना महिला हुन् । साधारण सभामा राष्ट्रिय सहकारी बोर्डकी सदस्य बिनिता दाहाल, विद्युत् महासंघका केन्द्रिय सदस्य जंगबहादुर महतो, साना किसान कृषि सहकारी संस्था शंकरपुरका अध्यक्ष भुपेन्द्रमान श्रेष्ठ, सूूर्योदय बचत तथा ऋण सहकारी संस्था शंंकरपुरका अध्यक्ष वुद्धिबहादुर तुमसिङ मगर, ग्रामीण विद्युत् सहकारी संस्थाका अध्यक्ष ओमबहादुर रोका, जिल्ला सहकारी संघ सर्लाहीका कोषाध्यक्ष भुवन निरौलालगायतको आतिथ्यता रहेको थियो ।
साधारण सभाबाट पुनः कौशिल्या निरौला अध्यक्ष रहने गरी संस्थाको ११ सदस्यीय संचालक समिति चयन गरिएको छ । संस्थाको उपाध्यक्षमा मिना कुमारी महतो, सचिवमा हेमामाया सुस्लिङ मगर, कोषाध्यक्षमा गोमा लामालगायत अन्य सदस्य चयन भएका छन् ।