logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साँझपख पुलमा अधिक जाम


  • उज्यालो अभियान

नवलपुर, ०८ पुस – उखु बोलेका सवारी साधन बाक्लै मात्रामा चल्न थालेसँगै साँघुरा रहेका पूर्व–पश्चिम राजमार्गको पुलमा जाम बढ्न थालेको छ ।

विशेष गरी साँझको समयमा साँघुुरा पुलबाट सवारी पास हुन समस्या पर्न थालेको हो । उखु लोड भएका ट्याक्टर र ट्रक विस्तारै पुल पार गर्नुपर्ने भएकाले साँझको समयमा ‘हाईवे’ का पुलमा जाम लाग्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीमा अन्य पुलको तुलनामा लालबन्दी र हरिवनको सीमास्थित लखन्देही पुलमा बढी नै जाम लाग्ने गरेको छ । २०४ मिटर लम्बाई रहेको लखन्देही पुलमा उखुको सवारी प्रवेश गरेपछि लालबन्दी नगरपालिकातर्फ नवलपुरसम्म र हरिवनतर्फ सासापुरस्थित तीनघरेसम्म नै गाडीको जाम लाग्ने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख रजोस घिमिरेले दिनभर समस्या नभए पनि साँझ परेपछि केही समय जाम लाग्ने गरेको बताए । उखु बोकेका सवारीलाई जतिसक्दो छिटो पुल पार गराउन र जाम कम गराउन साँझपख पुलमा ट्राफिक प्रहरी परिचालन थर्न थालिएको ट्राफिक इन्स्पेक्टर घिमिरेले बताएका छन् ।

साँझपख रात्रिबससँगै अन्य सवारी बाक्लै हिँड्ने र त्यहीबेला उखु बोकेका गाडी आउने हुँदा जाम बढ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । पुुलको जामलाई कम गर्नकै लागि उखु बोकेका गाडीलाई पुलमा सवारीको चापलाई मध्यनजर गर्दै पास गराउन समन्वय गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताए ।

पूर्व–पश्चिम राजमार्गस्थित हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगमा दक्षिणी बेल्टबाट उखु बोकेर बाक्लै मात्रामा ट्याक्टर र ट्रक आउने गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै नवलपुर–मलङ्गवा र नयाँरोड–मधुवनी सडकसहित अन्य भित्री सडकमा अहिले उखु बोकेका गाडी बाक्लै भेटिन्छन् ।