हरिवन, १६ मंसिर – सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिवनले आफ्ना महिला शेयर सदस्यलाई सुत्केरी भत्ता दिने भएकाे छ ।
चालु आर्थिक वर्षदेखी संस्थामा आवद्ध महिला शेयर सदस्यहरुलाई सुत्केरी पोषण सेवा अन्तर्गत बढीमा दुई पटक २ हजारका दरले उपलब्ध गराउने कार्यको थालनी गरिएकाे प्रबन्धक रविन्द्र बहादुर थापाले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ मा ६७ लाख ४२ हजार ३५७ रुपैंया १८ पैसा खुद मुनाफा गरेको छ ।
शनिबार दिउँसो हरिवन स्थित सम्राट पार्टी प्यालेसमा आयोजित चौधौं वार्षिक साधारण सभामा प्रस्तुत वर्षिक प्रतिवेदन अनुसार संस्थाले गत आवमा २७ करोड १७ लाख ४९ हजार ५१३ रुपैंया ८१ पैसाको कारोबार गर्दै उक्त मुनाफा गरेको हो । साधारण सभाले संचालक समितिको रिक्त सचिब पदमा कृष्ण प्रसाद श्रेष्ठ र सदस्य पदमा जयन्ती कुमारी आलेलाई चयन समेत गरेको छ ।
चार हजार ६८ जना शेयर सदस्य रहेको संस्थाले शेयर पूँजीमा सदस्यहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण, संरक्षीत पूँजी फिर्ता कोषबाट सदस्य व्यवसायीलाई कर्जामा तिरेको व्याजको २.४९ प्रतिशत र बचतकर्ता सदस्यलाई बचतमा पाकेको व्याजको ३.१३ प्रतिशत गरी सम्पूर्ण कारोवार गर्ने सदस्यहरुलाई १५.६२ प्रतिशत बोनस रकम वितरण गरिएको प्रबन्धक रविन्द्र बहादुर थापाले जानकारी दिए । त्यस्तै कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, ऋणि, कर्मचारी लगायतलाई प्रशंसापत्र सहित सम्मान समेत गरिएको छ ।
संस्थाका अध्यक्ष मोहन लाल श्रेष्ठको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उप–प्रमुख हरि माया घलानको प्रमुख आतिथ्यता रहेको साधारण सभा उद्घाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ सलांहीका सचिव केशव प्रसाद ढकालको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाका वडाध्यक्षद्वय शम्भु मैनाली र शेष मेहबुब रेजा, सहकारी सञ्जाल हरिवनका संयोजक राम प्रसाद घिमिरे, राष्ट्रिय सहकारी बैंक लिमिटेड हरिवनका शाखा प्रमुख नारायण लामिछाने, नेफ्स्कून फिल्ड कार्यालय हरिवनका प्रतिनिधि प्रशन्न पाैडेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।