logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

तीन स्रष्टालाई सम्मान तथा चारवटा कृति विमोचन


  • उज्यालो अभियान

लालबन्दी, १५ मंसिर – लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा आज स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कूूलपति भूपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । लालबन्दी नगर वाङ्मय परिषद्ले प्रत्येक वर्ष प्रदान गर्ने ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार’ यो वर्ष पत्रकार अखण्ड भण्डारीद्वारा लिखित ‘बोरा’ उपन्यासलाई प्रदान गरिएको छ ।

परिषद्ले गठन गरेको पुरस्कार छनौट समितिले विभिन्न कृतिमध्ये भण्डारीको उपन्यासलाई उत्कृष्ट ठहर गर्दै पुरस्कारका लागि सिफारिस गरेको थियो । अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक समेत रहेका भक्तपुर सूूर्यविनायक निवासी भण्डारीलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कूूलपति भूपाल राई, लालबन्दी नगरपालिकाका प्रमुख एवं लालबन्दी नगर वाङ्मय परिषद्का प्रमुख संरक्षक बासुदेव अधिकारी, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेलगायत भएर सम्मान गरेका हुन् ।

भण्डारीलाई नगद ५० हजार रुपियाँ तथा सम्मान–पत्रसहित सम्मान गरिएको लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।

यस्तै ‘साहित्यिक सहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार’ काठमाडौं महानगरपालिका–५, गहना पोखरी निवासी वरिष्ठ साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । घिमिरेलाई पनि ५० हजार रुपियाँ नगद तथा सम्मान–पत्रसहित सम्मान गरिएको हो ।

त्यसैगरी ‘स्थानीय प्रतिभा पुरस्कार’ लालबन्दी नगरपालिका–६, निवासी पत्रकार शङ्कर श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठलाई नगद २५ हजार रुपियाँ र सम्मान–पत्रसहित सम्मान गरिएको छ ।

लालबन्दी नगरपालिका–६, स्थित कम्युनिटी आवासिय विद्यालयमा आयोजित कार्यक्रममा चारवटा कृति समेत विमोचन गरिएको छ । सुुमन घिमिरे ‘अग्रिम’ को कविता सङ्ग्रह ‘प्यालासँग नयाँ कविता’, घिमिरेकै लालबन्दीका नगरप्रमुख बासुुदेव अधिकारीको जीवनीमा रहेर लेखिएको  ‘समाजसेवामा बासुदेव अधिकारी’, विवश पौडेलको गजलसङ्ग्रह ‘धर्तीको जुन’ र देवराज पौडेलको कथासङ्ग्रह ‘मानवता हराएका सहरहरु’ को विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला र गजलकार डा. घनश्याम न्यौपाने विशिष्ठ अतिथि रहेको कार्यक्रममा कवि भूपिन खड्का, कवि निमेश निखिल, कवि प्रतिक घिमिरे, गजलकार सुरेश सुवेदी, कवि निरन्जना चन्द ‘निरु’, गजलकार भाष्करकाजी, कवि रमेश भट्टराई, कवि पूर्णकला घिमिरे, कवि यस लामा, गजलकार सुमित्रा आचार्यलगायतका कवि तथा कवयित्रीहरुले आ–आफ्नो सिर्जना वाचन गरेका लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युुत अधिकारीले बताए ।