logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धान बाली भित्र्याउने चटारो


  • उज्यालो अभियान

हरिपुर, १४ मंसिर – सर्लाहीका किसानलाई धान काटेर भित्र्याउने चटारो परेको छ ।

जिल्लाको उत्तरी भेगका किसानले तिहारअघि नै धान भित्याएर सकेपनि दक्षिणी बेल्टमा भने अहिले धान काट्न भ्याइनभ्याइ रहेको हो । आकाशे वर्षाको भर रहेको उत्तरी भेगमा चाँडो पाक्ने धान लगाउने गरिन्छ ।

नहरको पानी लाग्ने, पप्पसेट, डिपबोरिङ र स्यालो ट्यूूबेल चल्ने दक्षिणी भेगमा सिँचाई सुविधा रहेका कारण ढिलो पाक्ने धान रोप्ने गरिएको किसानले बताएका छन् । जिल्लाको लालबन्दीसहित हरिपुर, कविलासी, गोडैता, बरहथवा, चक्रघट्टा, बसबरिया, धनकौल, बलरा, रामनगरलगायत दक्षिणी बेल्टमा अधिकांश फाँटमा किसानले धमाधम धान काटेर भित्याइरहेको देखिन्छ ।

धान थन्काइरहेका किसानलाई कामदारको भने अभाव छ । यो वर्ष धेरै ठाउँमा धान काट्ने मेसिन पुुग्दा किसानलाई केही सहजता थपिएको छ ।

काटेर थुुपारिएको धान झार्नका लागि दर्जनौँ थ्रेसर किसानको खेतमै पुुगेका छन् । यो वर्ष धेरैजसो किसानले धान बालीमा गवारो, कालो पोकेजस्ता रोगको सामना गरेका छन् ।

उत्तरी भेगका फौजी किराले धानको बाला नै काट्ने समस्या धेरै देखिको थियो । जुटपानी, जियाजोर, बागमतीलगायत क्षेत्रमा नगरपालिकाबाट अनुुदानमा वितरित धानमा दाना नै नपस्दा किसान समस्यामा परेका छन् ।

कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले पछौटे अर्थात् ढिलो गरी पाक्ने धान धमाधम भित्र्याउने बेला भएको जानकारी दिनुुभयो । उहाँले यो वर्ष आकाशे वर्षाले साथ दिँदा धान बाली राम्रै भएपनि अन्तिमतिर आएर रोग, किराको प्रकोपले असाध्य सताएको बताउनुुभयो ।

बेमौसमी वर्षाले समेत जिल्लाको विभिन्न भागमा धान बालीमा क्षति पुुर्याएको छ ।

सर्लाहीमा ४६ हजार हेक्टर जग्गामा धान खेती हुुदैँ आएकोमा खेतीयोग्य जमिनमा घर, विभिन्न प्रयोजनका भवन, सडकलगायतका संरचना निर्माण हुुँदा पछिल्लो गणना अनुसार धान खेती हुने क्षेत्रफल ४३ हजार हेक्टरमा खुम्चिएको कृषि ज्ञान केन्द्र मलङ्गवाले जनाएको छ ।