कार्यक्रम आयोजना हुने विद्यालय ।
गडहीया, १३ मंसिर – सर्लाहीको बलरा नगपालिकामा पहिलो पटक सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना हुने भएको छ ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार, काठमाडौंसँगको सहकार्यमा बलरा नगरपालिकाको कार्यालयले यही मङ्सिर १८ र १९ गते जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गर्न लागेको हो । बलरा नगरपालिका–८, स्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा हुने विज्ञान प्रदर्शनीको तयारी धमाधम भइरहेको बलरा नगरपालिकाका प्रमुख रामाशङ्कर प्रसाद कुशवाहाले जानकारी दिए ।
विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारहरुको विकास र विस्तार गर्ने उद्देश्यले दुुई दिने आधारभूत तथा माध्यमिक तहको सर्लाही जिल्ला स्तरीय विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनौट गरिसकेको छ ।
प्रदर्शनीमा स्टल राख्नका लागि ३४ वटा विद्यालय छनौटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका इकाइ प्रमुख (उपसचिव) तारापति खरेलले बताए ।
प्रदर्शनीको मङ्सिर १८ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने छिन् ।