लालबन्दी, ११ मंसिर – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल आज सर्लाही आउँदै छन् ।
लालबन्दी र ईश्वरपुरमा आयोजित स्वास्थ्यसँग सरोकारको कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्न मन्त्री पौडेल यहाँ आउन लागेका हुन् । हवाई मार्ग हुँदै सर्लाही आउन लाग्नुुभएका मन्त्री पौडेलले सुरुमा लालबन्दीस्थित नगर अस्पताल डुुमडुुमेको निरीक्षण गर्ने कार्यक्रम छ ।
स्वास्थ्यमन्त्री पौडेलले नगर अस्पतालको अवस्था तथा वडा नं. ६ निर्माणाधीन नगर अस्पताल अन्तर्गत ट्रमा सेन्टरको निरीक्षण गर्ने कार्यक्रम तय भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीले जानकारी दिए । लालबन्दीको कार्यक्रम सकेर मन्त्री पौडेल बयलवास जाने छन् ।
उनले त्यहाँ ईश्वरपुर नगरपालिका ९ मा निर्मित आँखा उपचार केन्द्र भवनको उद्घाटन, वडा नं. ६ स्थित नगर अस्पताल ईश्वरपुरको निरीक्षण र बजारमा व्यावसायिक भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक सुुगेन्द्र महतोले बताए ।