logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

छठपर्वले झकिझकाउ बनेका सजियाघाट (तस्बिरहरु)


  • उज्यालो अभियान

लालबन्दी, २२ कात्तिक – छठपर्व २०८१ अन्तर्गत विहिबार साँझ व्रतालुहरुले सजियाघाट स्थित जलाशयमा डुबेर अस्ताउँदाे सूर्यलाई अर्घ्य चढाएका छन् ।

सर्लाहीमा मात्रै २० वटा पालिकाका दुईसय भन्दा बढी स्थानमा छठघाट निर्माण गरिएको छ । बागमती, लखन्देही, झिम, बाँकेलगायतका खोलासहित जिल्लाभरका पोखरी, नहरलगायतका जलाशयमा छठघाट निर्माण गरिएको स्थानीयले बताएका छन् । गाउँले, वडा कार्यालय, नगरपालिकालगायत निकायको सहयोगमा छठघाट तयार पारिएको छ ।

सबै घाटहरुमा विहिबार साँझ ब्रतालु सहित भक्तजन तथा अन्य दर्शकहरुकाे घुइँचाे रहेकाे थियाे । भाेली शुक्रबार बिहान उदाउदाे सूर्यलाई अर्घ्य चढाएपछि छठपर्व समापन हुन्छ ।

छठपूजा अन्तर्गत पहिलो दिन अस्ती ‘नहाय-खाय’ विधि सम्पन्न गरेका व्रतालुले हिजो कात्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ विधि पूरा गरेका थिए । पवित्र स्नान गरी दिनभर निराहार उपवास अर्थात् व्रत बसेर राति सक्खरमा पकाइएको खिर कूलदेवता र छठी देवीलाई चढाइ व्रतालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई ‘खरना’ भनिन्छ ।

श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ का दिन दिनभरी उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दुध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर व्रतालु र परिवारका अरु सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

पर्वको तेस्रो दिन आज अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले नजिकैको जलाशयमा बनाइएको छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् । यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ ।

त्यसैगरी सप्तमीका दिन भोली बिहान व्रतालुले उदाउँदो सूर्यलाई दोश्रो अर्घ्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई मिथिलामा `भोरका अरख’ वा `पारन’ भनिन्छ । अर्घ्य दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्ठान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।

(तस्बिरहरु : ओमप्रकाश ठाकुर/विश्वनाथ ठाकुर/सुनिल ठाकुर/श्रवण थापा/प्रकाश मैनाली/अमलेश ठाकुरकाे सहयाेगमा)