logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिपुरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि आयोजककै पोल्टामा 


  • उज्यालो अभियान

हरिपुर, १४ कात्तिक – सर्लाहीको हरिपुर नगरपालिका–२, सानो जगतपुरमा आयोजित जिल्ला स्टरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नव संघर्षशील युवा क्लब हरिपुरले नै जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा आरएफसी हरिवन ६ घुर्कौलीलाई एककाविरुद्ध तीन गोल गर्दै आयोजकको निलो टिमले उपाधि उचालेको हो । जितसँगै आयोजक नव संघर्षशील युवा क्लबले ५० हजार नगदसहित ट्रफी हात पारेको छ । उपबिजेता आरएफसी घुर्कौलीले भने २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतियोगितामा आयोजकका रोशन घिसिङ वेष्ट किपर, राकेश चौधरी वेष्ट डिफेन्डर, प्रज्वल थापा मगर वेष्ट मिडफिल्डर र आरएफसी घुर्कौलीका क्षितिज भण्डारी वेष्ट फरवार्ड घोषित भए । उनीहरुलाई जनही दुई हजार नगद प्रदान गरिएको छ । वेष्ट कोच आयोजकका मनोज कार्कीलाई पनि दुई हजार नगदसहित पुरस्कृत गरिएको छ ।

प्लेयर अफ द टुडामेन्ट बन्न सफल आयोजककै कप्तान विकल्प थापालाई तीन हजार नगद प्रदान गरिएको छ । फाइनल खेलमा हिरो अफ द म्याच बन्न सफल आयोजक नव संघर्षशील युवा क्लबका मोहित गुरुङलाई पाँच सय नगद प्रदान गरिएको छ ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता, विभिन्न विधाका उत्कृष्ट खेलाडी, कोचलगायतलाई मधेश प्रदेशसभा सदस्य बेची लुङ्गेली, हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियार, नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, आयोजक क्लबका उपाध्यक्ष विकाससिंह घलानलगायत भएर पुरस्कार वितरण गरेका आयोजक क्लबका अध्यक्ष एवं कार्यक्रम संचालक अमृतकुमार घिसिङले जानकारी दिए ।