logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मौसम उघ्रिएपछि भिजेको धान सुकाउँदै किसान


  • उज्यालो अभियान

हरिपुर, ०५ कात्तिक – मौसम उघ्रिएपछि सर्लाहीका किसानले खेतमा भिजेको धान धमाधम सुकाउन थालेका छन् ।

शनिबार राति परेको ठूलो पानीले खेतमा काटेर निन सुकाएको धान भिजाएको थियो । पानीसँगै हावाहुरी चल्दा पसाउँदै गरेको धान समेत लडाएको थियो । पानीले डुबाएको धान किसानले पाँजामा ओसारेर खेतको आली तथा अन्य ओभानो ठाउँमा भ्याइनभ्याइ सुकाइरहेका हुन् ।

मजदुर अभावमा बल्लतल्ल धान काटेका किसानले फेरि मजदुर लगाएर धान सुकाउनुपर्ने अवस्था आएपछि समस्या थपिएको दुःखेसो पोखेका छन् । मुखैमा आइसकेको धानबाली पानीले भिजाउँदा जिल्लाभरका किसान अहिले निराश देखिन्छन् ।

कृषि विज्ञले भिजेको धान तत्काल नसुकाए उम्रने भएकाले घाममा राम्रोसँग सुकाइहाल्न सुझाव दिएका छन् । किसानले पानी र हावाले लडाएको धान पनि उठाउने काम गरिरहेका छन् ।

कतिपय किसानले धान बाली थन्काइसकेर तोरी, चना, मसुरो, आलसलगायतका दलहन तथा तेलहन बाली रोपिसकेका थिए । पानीले ति सबै बाली बिगारेको किसानको गुनासो छ ।

बिउबिजन जुटाएर दलहन तथा तेलहन बाली फेरि दोहोर्याएर रोप्नुपर्ने अवस्था आएको छ । शनिबार रातिको ठुलो पानीमा डुबेको गोलभेँडा, कोभीलगायत विभिन्न तरकारीका बेर्ना र हरियो तरकारीका बोट अहिले चर्किएर घाम लाग्न थालेपछि बोट नै मर्न थालेका किसानको भनाई छ ।