logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रोग, कीरा लागेपछि काँचो धान काट्दै किसान


  • उज्यालो अभियान

आधुनिक मेसिनबाट धान काट्दै सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका हरि तिरुवा विश्वकर्मा । (तस्बीर : उज्यालो अभियान)

घारिबथान, ०२ कात्तिक – धान बालीमा रोग, कीराको प्रकोप बढेपछि सर्लाहीको उत्तरी भेगका किसानले राम्रोसँग पाकिनसकेको धान भित्र्याउन थालेका छन् ।

मुखैमा आइसकेको धान बालीमा फौजी कीरा, गवारो, पतेरो, कालो पोका, बाला मर्ने जस्ता रोग देखिएको छ । सर्लाहीमा उत्तरी भेगको परवानीपुर, घारिबथान, लालबन्दी, नवलपुर, जुटपानी, हरिवनलगायत क्षेत्रका किसानले लगाएको धान बालीमा रोग, कीराको प्रकोप देखिएको हो ।

फौजी कीराले एक रातमै धानको बाला सखाप पाकेर झार्न थालेपछि ईश्वरपुर नगरपालिका–१२, घारिबथान क्षेत्रका किसानले पाक्न बाँकी नै रहेको धान हतारहतारमा भित्याइरहेका छन् । स्थानीय किसान धनबहादुर बुढाथोकीले फौजी कीराले व्यापक क्षति गर्न थालेपछि घारिबथानको धान खेती हुने सबै फाँटमा केही दिनदेखि तीव्ररुपमा धान भित्र्याउने काम भइरहेको बताए ।

यो वर्ष वर्षाले साथ दिँदा धान बाली राम्रो रहेको भन्दै खुसी रहेका किसान बाली भित्र्याउने बेला भने रोग, कीराको प्रकोप देखिएपछि निराश बनेका छन् । सबैले हतारहतार गरेर धान भित्र्याउँदा कामदारको अभाव भएको छ भने सिमित मात्रामा रहेको धान काँट््ने मेसिनलाई भ्याइनभ्याइ परेको छ ।

यो वर्षमात्रै धान काट्ने आधुनिक मेसिन किनेका घारिबथानका हरि तिरुवा विश्वकर्माले सबैले एकैपटक धान काट्न खोज्दा समय मिलाउनै मुस्किल परेको बताए । रोग, कीराको प्रकोपले धेरै धान नाश हुने भएपछि किसान आत्तिएका छन् ।

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले रोग, कीराले धेरै सताएको ठाउँमा चाँडोचाँडो गरेर धान भित्र्याउनु नै उपयुक्त हुने बताए । फौजी किराले काटेको धान पनि क्षति गर्ने भएकाले तत्कालै धान झारेर धान, पराल पछि सुकाउन कृषि ज्ञान केन्द्र प्रमुख रायको सुझाव छ ।

उनका अनुसार अगाडि पाक्ने कर्तनी, हर्दिनाथ, सुख्खा–५ लगायत जातका धान भित्र्याउने बेला हुन थालिसकेको छ । ढिलो पाक्ने सोना मन्सुली, रामविलास, बास्मती जातको धान रोपिने जिल्लाको दक्षिणी भेगमा भने भर्खर धान पसाउने बेला भएको छ ।

लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलका अनुसार लालबन्दी नगरपालिकाभित्र पनि अधिकांश किसानले लगाएको धान बालीमा गवारो र पतेरोको प्रकोप बढी देखिएको छ ।

आधुनिक मेसिनबाट धान काट्दै सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानका हरि तिरुवा विश्वकर्मा । (तस्बीर : उज्यालो अभियान)