फाइल तस्बीर ।
कालिन्जोर, २३ असोज – सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, घारिबथानलगायत आसपासको क्षेत्रमा गएराति एक झर ठूलो पानी परेको छ ।
राति १० बजेको आसपासमा त्यसभेगमा खण्डवृष्टि भई पानी परेको हो । रातिको पानीले किसानले भर्खरै काटेर खेतमा सुकाएको धानमा क्षति पु¥याएको छ । चुरेभेगका अन्य ठाउँमा पानी नपरेपनि घारिबथान तथा छिमेकी जिल्ला महोत्तरीको खयरमारा क्षेत्रमा केही बेर ठूलै पानी परेको स्थानीयले बताएका छन् ।
हिजो मध्यान्हपख लालबन्दी र यस आसपासका क्षेत्रमा पनि केहीबेर पानी छिट्याएको थियो । सर्लाहीमा किसान मौसम उघ्रिने आशमा बसेका छन् ।
चाँडो रोपेको धान पाकिसकेकाले मौसम राम्रोसँग उघ्रिदिए धान भित्र्याउने तयारी किसानको छ । कतिपय किसानले अहिले पनि धमाधम धान काटिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा धान बालीमा गवारो, राते, फौजीलगायत रोग कीराको प्रकोप देखिँदा किसान अत्तालिएका छन् ।
वर्षाले साथ दिँदा यो वर्ष धान राम्रो फलेपनि अब भित्र्याउने बेला मौसम खराब र रोग, कीरा पनि उत्तिकै लाग्दा किसानलाई निराश पारेको हो । पानीबाट धेरै क्षति बेहोरेका कारण तरकारी किसान पनि मौसम उघ्रिने आशमा बसेका छन् ।
डेढ साताअघिको घनघोर वर्षाले गोलभँेडाको बेर्नासहित अन्य हरियो तरकारी सखाप नै पारेको छ । ठूलो पानी परेदेखि मौसम सफा हुन नसकेको र धाम्मधुम्म भइरहेकाले किसानलाई चिन्तित तुल्याएको छ ।
पानी पर्न रोकिएपछि जिल्लाको चुरेभेगका विकट गाउँमा मोटरसाइकल, ट्याक्टर, बस, बोलेरोलगायतका सवारी साधन गुड्न थालेसँगै जनजीवन केही सहज बनेको छ । ति क्षेत्रका स्थानीयलाई पनि पुनः वर्षा भएर खोलाबाट गाडी चल्न बन्द हुने हो कि भन्ने चिन्ता रहेको छ ।