logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीका उखु किसानले पाए अनुदान रकम


  • उज्यालो अभियान

हरिवन, १९ असोज – सर्लाहीका उखु किसानले हिजो अनुदानको रकम प्राप्त गरेका छन् ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले किसानको खातामा रकम जम्मा गरिदिएको हो । सर्लाहीका उखु किसानलाई वितरण गर्न २९ करोड ७१ लाख सात हजार ८०३ रुपियाँ अनुदान रकम निकासा भएर आएको थियो ।

विभिन्न बैङ्कले घटस्थापनाअघि नै कोलेनिकाबाट चेक बुझेर लगेका थिए । बैङ्कहरुले हिजो किसानको खातामा रकम जम्मा गरिदिएका मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।

चाडपर्वको मुखमा उखुको अनुदान रकम पाउँदा किसान दङ्ग परेका छन् । गत वर्ष अपुरो रकम निकासा भएर आउँदा किसानले दुई पटकमा गरेर बल्लतल्ल अनुदान रकम प्राप्त गरेका थिए ।

यो वर्ष एकैपटकमा किसानलाई वितरण गर्न पुग्ने रकम निकासा भएर आएको र प्राप्त रकम तत्कालै वितरण गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका लेखापाल रामप्रकाश साहले जानकारी दिए । लेखापाल साहका अनुसार महालक्ष्मी चिनी उद्योग बगदहमा उखु बिक्री गरेका २४ जना उखु किसानको भने बैङ्क खाता प्राप्त हुन नसकेको र बैङ्क खाता आएपछि ति किसानको अनुदान रकम पठाइने छ ।

गत वर्ष सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपियाँका दरले अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।