logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सगुनको अध्यक्ष लगायत पदाधिकारीमा दर्जनौं आकांक्षी, जिम्मेवार तहबाट नाम दिन आनाकानी


  • उज्यालो अभियान

हरिवन, ०७ असोज – सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको २५औं साधारण सभा आईतबार दिउँसो सम्पन्न भएको छ ।

यो साधारण सभा मार्फत नै संस्थाको नयाँ नेतृत्व चयनको प्रकृया समेत सूरु भएको छ । नेतृत्व चयनमा सहमतिका लागि हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (रमेश)को संयोजकत्वमा नेपाली कांग्रेसका नेता डोरप्रसाद भट्टराई र नेकपा एमालेका नेता विदुर प्याकुरेल रहेको समिति गठन भएको छ ।

अध्यक्ष सहित पदाधिकारीका लागि ४५ जनाभन्दा बढीले समितिसमक्ष नाम दिएको चर्चा चलेपनि आधिकारिक रुपमा क-कसको उम्मेद्वारी पर्यो वा आकांक्षी थिए भन्ने सूचना प्राप्त हुन सकेको छैन । संस्थाका एक कर्मचारीका अनुसार प्रबन्धक रविन्द्र रानाले आकांक्षीहरुको नाम कम्प्यूटरमा लिपिबद्ध गरेका छन् । रानाले आईतबार राती नै समितिका संयोजक सहित सदस्यहरुलाई आकांक्षीहरुको नामलिष्ट समेत दिईसकेको बताईएको छ । क-कसको उम्मेद्वारी वा आकांक्षा देखियो त भन्ने प्रश्नमा रानाले उज्यालो अभियानसँग भने, ‘नामका बारेमा मलाई हैन समितिका संयोजक एवं सदस्यज्यूहरुलाई नै सोध्नु होला ।’

समितिका संयोजक बुढाथोकी तथा सदस्यहरु भट्टराई एवं प्याकुरेललाई फोन गरेर अध्यक्ष सहित पदाधिकारीहरुमा आकांक्षीहरुको नाम सोध्दा, उनिहरुले पनि स्पष्ट जवाफ दिन चाहेका छैनन् । संयोजक बुढाथोकी सहित सदस्यहरु नेतृत्व चयनमा सर्बसम्मतिका लागि प्रयास भईरहेकाले अहिले नै नाम बाहिर ल्याउँदा गाह्रो हुने आशय व्यक्त गर्छन् । समितिका सदस्य भट्टराईका अनुसार मंगलबार समितिको बैठक बसेर नेतृत्व चयनको प्रकृया टुंग्याईने छ । उनले भने, ‘सोमबार हरिवन नगरपालिकाको नगर सभाबाट पारित बजेट सार्वजनिक कार्यक्रम रहेकाले संयोजकज्यूको समयअभावका कारण मंगलबार मात्र समितिको बैठक बसेर आकांक्षीहरु सित समेत छलफल गर्दै सर्वसम्मत नेतृत्व चयनको प्रकृया अगाडी बढाउने कुरा भएको छ ।’

१२ हजार ९३६ जना शेयर सदस्य रहेको संस्थाले २०८१ असार मसान्तसम्म १ अर्ब ५६ करोड ३७ लाख ५० हजार ११३ रुपैंया कारोबार गरेको प्रतिवेदन साधारण सभामा प्रस्तुत भएको छ । संस्थाका अध्यक्ष केशब प्रसाद ढकालको अध्यक्षता तथा पूर्व रक्षा मन्त्री हरि उप्रेतीको प्रमुख आतिथ्यता रहेको साधारण सभा उद्घाटन समारोहमा प्रदेश सभा सदस्य जबाहर लाल कुशवाहाको विशिष्ट आतिथ्यता रहेको थियो । हरिवन नगरपालिका–९, नोचा स्थित सगुन आवासीय विद्यालयको प्रांगणमा आयोजित साधारणसभा उद्घाटन समारोहमा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (रमेश) ,बरहथवा नपाकी मेयर कल्पना कटुवाल, हरिवन नपाकी उपमेयर हरिमाया घलान, जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीकी अध्यक्ष मन्दिरा आचार्य, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापा, विभिन्न राजनैतिक दलका नेता, सामाजिक, शैक्षिक एवं सहकारी अभियन्ताहरु, सुरक्षा निकायका प्रमुख सहितको आतिथ्यता रहेको थियो ।