चन्द्रनगर, १५ भदौ – सर्लाहीमा पनि आज १७ औँ पुस्तकालय दिवस मनाइएको छ ।

जिल्लाको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वामा रहेको राम जनता आधारभूत विद्यालयमा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नारासहित पुस्तकालय दिवस मनाइएको हो । यो विद्यालयमा एक वर्षअघि मधेश प्रदेशमै पहिलो पटक बालमैत्री पुस्तकालय स्थापना भएको थियो ।
विद्यालयका निमित्त प्रधानाध्यापक सरोजकुमार सिंहले पुस्तकालयको संरक्षण र पुस्तक पढ्ने बानीको विकास गर्ने उद्देश्यसहित जिल्लाभरमै एक ठाउँमा मात्रै भएपनि विद्यालयले पुस्तकालय दिवस मनाएको जानकारी दिए ।

दिवसका अवसरमा चन्द्रनगर गाउँपालिका ३ मा आज बिहान प्रभातफेरि निकालेर विद्यालयमा विशेष समारोह गरिएको प्रधानाध्यापक सिंहले बताए । पुस्तकालय दिवसका अवसरमा विद्यालयले पुस्तकालयमा गएर नियमित अध्ययन गर्ने र परीक्षामा राम्रो नतिजा समेत ल्याउने कक्षा १ देखि ८ सम्मका एक/एक जना विद्यार्थीलाई जनही पाँच सय रुपियाँ नगदसहित सम्मान गरेको छ ।
विद्यार्थीलाई पुस्तकालयप्रति अझ बढी पोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको प्रधानाध्यापक सिंहले बताए । विद्यालयले पूर्व शिक्षक समेत रहेका कार्यक्रमका प्रमुख अतिथि एवं मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, चन्द्रनगर गाउँपालिका ३ का वडाध्यक्ष सीताराम महतोलगायतको आतिथ्यता रहेको थियो ।