logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कृषि क्याम्पसका लागि जग्गा प्राप्तीको पहल, प्रदेशका दुई मन्त्रीलाई गराइयो निरीक्षण


  • उज्यालो अभियान

परवानिपुरमा जग्गा हेर्न पुगेका दुई मन्त्रीसहित अन्य । (तस्बीर सौजन्य : लालबन्दी १६ का वडा सचिव विष्णु गौतम)

लालबन्दी, १५ भदौ – लालबन्दी नगरपालिकाले कृषि क्याम्पस स्थापना गर्न वडा नं. १६ परवानिपुरमा जग्गा प्राप्तीका लागि पहल थालेको छ ।

काठमाडौं विश्वविद्यालयले लालबन्दी नगरपालिकाभित्र आफ्नो आङ्गिक क्याम्पसका रुपमा कृषि क्याम्पस स्थापना गर्न सहमति जनाए पनि जग्गाको टुङ्गो लागिसकेको छैन् । नगरपालिका कार्यालयले परवानिपुर गाउँदेखि पुच्छारमा पर्ने वनको नदी उकास जमिन क्याम्पसका लागि उपलब्ध गराउन पहल थालेको छ ।

त्यस ठाउँमा कालिन्जोर खोलाको नदी उकास ६० बिघा भन्दा बढी जग्गामा कुनै रुख, विरुवा नरहेको र काठमाडौं विश्व विद्यालयका पदाधिकारीलाई अनुगमन गराउँदा उक्त ठाउँ क्याम्पस स्थापनाका लागि उपयुक्त हुने बताएकाले नगरपालिकाले सो जग्गा प्राप्तीका लागि पहल थालेको हो । काठमाडौं विश्वविद्यालयले कृषि क्याम्पस स्थापनाका लागि करिव ४० बिघा जग्गा आवश्यक पर्ने जनाएको छ ।

जग्गा प्राप्तीका लागि पहल गर्नेक्रममा शनिबार बिहान मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साह र श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायलाई उक्त नदी उकास जमिन रहेको क्षेत्र निरीक्षण गराइएको छ ।

प्रदेशका सरकारका वन मन्त्री साहले लालबन्दी नगरपालिकाले पहल गरिरहेको कृषि क्याम्पसलाई प्रदेश सरकारले पनि गौरवको योजनाका रुपमा अघि बढाउन पहल गर्ने वचन दिएका निरीक्षणमा सहभागी जनज्योति बहुमुखी क्याम्पसका अध्यक्ष दीपक अधिकारीले बताए । मन्त्री साहले जग्गा प्राप्तीको विषय प्रदेशको मन्त्रीपरिषद् बैठकबाट निर्णय गराएर सङ्घीय सरकार समक्ष समेत माग गर्ने पनि बताए ।

सर्लाही नै गृह जिल्ला रहेका श्रम तथा यातायात मन्त्री रायले पनि कृषि क्याम्पसका लागि जग्गा प्राप्ती गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश सरकारका मन्त्री द्वयलाई लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीले कृषि क्याम्पस स्थापनाका लागि नगरपालिकाको तर्फबाट अहिलेसम्म भए/गरेका पहल र कामका विषयमा अवगत गराएका छन् । नगरप्रमुख अधिकारीले यहाँ कृषि क्याम्पस खोल्न सके मधेश प्रदेशसहित मित्रराष्ट्र भारतका विद्यार्थीले समेत कृषि विषयमा उच्च तहको अध्ययन गर्ने अवसर पाउने आश व्यक्त गरे ।

जग्गाको निरीक्षणमा प्रदेश सरकारका दुई मन्त्रीसहित नगरप्रमुख अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका अध्यक्ष दीपक अधिकारी, लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्गेल (रामु), लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल), लालबन्दी १६ का वडाध्यक्ष गणेशबहादुर थापा, प्रदेश वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालयका प्रतिनिधि, परवानिपुरका अगुवा, स्थानीयवासीलगायत सहभागी भएका थिए ।

लालबन्दीमा कृषि क्याम्पस निर्माणका लागि पहल गरिदिन माग गर्दै गएको बैशाख ६ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर जिल्लाका सांसद, राजनीतिक दलका नेता, जनप्रतिनिधिलगायत भएर पत्र बुझाएका थिए ।