लालबन्दी, १० भदौ – ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८१’ उपन्यास ‘बोरा’ लाई प्रदान गरिने भएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्ले पत्रकार अखण्ड भण्डारीद्वारा लिखित उक्त उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार छनौट समितिले १० कृतिमध्ये ‘बोरा’ उपन्यासलाई उत्कृष्ट घोषणा गरी पुरस्कारका लागि छनौट गरेको लालबन्दी नगर वाङ्मय परिषद्का सचिव सुमन घिमिरेले जानकारी दिए । यो पुरस्कारको राशी ५० हजार रुपियाँ रहेको छ ।
यस्तै ‘सहीद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८१’ पत्रकार रोचक घिमिरेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारको राशी पनि ५० हजार रुपियाँ रहेको छ ।
साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिनेक्रममा सहादत प्राप्त गरेका ‘मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको हो । यो पुरस्कार यसै वर्षबाट वितरण गर्न सुरु गरिएको लालबन्दी नगर वाङ्मय परिषद्ले जनायो ।
यसैगरी परिषद्ले २५ हजार रुपियाँ राशीको ‘लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०८१’ पत्रकार शङ्कर श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
यि तीनवटै पुरस्कार आगामी मङ्सिर १५ गते लालबन्दीमै एक कार्यक्रमको आयोजना गरी वितरण गरिने लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्यूत अधिकारीले आज प्रेस विज्ञप्ती जारी गरी जानकारी गराएका छन् ।