logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनका पानी उद्योगमा नगरपालिकाको अनुगमन, सर्लाही रिफ्रेसलाई विक्री वितरणमा रोक


  • उज्यालो अभियान

हरिवन, ०३ भदौ – हरिवन नगरपालिका भित्रको दुईवटा खानेपानी उद्योगमा नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

आईतबार दिउँसो मेयर बुढाथोकी, ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक (ईन्स्पेक्टर) अनिल राज गिरी, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी लगायतको टोलीले खानेपानी उद्योगमा अनुगमन गरेको हो । हरिवन नगरपालिकाको हनुमान चोक (ईन्दुशंकर चिनी उद्योगबाट पश्चिम) स्थित सर्लाही रिफ्रेस खानेपानी उद्योग र तीनघरे स्थित सर्लाही टाईम्स खानेपानी उद्योगमा अनुगमन गरिएको मेयर बुढाथोकीले जानकारी दिए ।

किनेर ल्याएको जार भित्रको पानीमा बाक्लै लार्भाजस्ता किराहरु देखिएपछि हरिवन नगरपालिका–५, घुर्कौली निवासी रुद्र प्रसाद फूयाँलले मेयर बुढाथोकी, वडाध्यक्ष नागेन्द्र साह, पत्रकारहरु लगायतलाई खबर गरेका थिए । लगतै मेयर बुढाथोकी नेतृत्वको टोलीले खानेपानी उद्योगहरुमा अनुगमन गरेको हो । किरायुक्त पानी सर्लाही रिफ्रेस उद्योगको भएकाले तत्काल उक्त उद्योगका सञ्चालकलाई पानी विक्री वितरण रोक्न भनिएको मेयर बुढाथोकीले जानकारी दिए ।

त्यस्तै टोलीले तीनघरे स्थित सर्लाही टाईम्स उद्योगमा समेत स्थलगत अनुगमन गरेको थियो । दुवै उद्योगको पानी संकलन गरिएको र मंगलबार परीक्षणका लागि जनकपुर पठाईने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चौधरीले जानकारी दिए ।

मानवीय जीवनको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने खानेपानी जस्तो विषयमा समेत उद्योगहरुमा लापरबाही देखिएको मेयर बुढाथोकीको भनाई छ । दुवै उद्योगमा मापदण्ड अनुसारको संरचना र सरसफाई नदेखिएको, पूनः प्रयोग हुने जार सफा गर्नका लागि उपकरण नभएको लगायत देखिएको मेयर बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार दुवै उद्योगका सञ्चालकलाई सरसफाई र मापदण्ड अनुसारका उपकरण राख्न भनिएको तथा पानीको परीक्षण प्रतिवेदन आएपछि थप कार्बाही प्रकृया अगाडी बढाईने ।