logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

यस्ता छन् लालबन्दीका सम्भावनाहरु


  • उज्यालो अभियान

सुरज अधिकारी

०३ भदौ, २०८१ – चुरे र तराइको फाँटलाई गर्लम्म अँगालो हालेर फिँजिएको लालबन्दी नगरपालिका सम्भावनै सम्भावना बोकेको क्षेत्रको रुपमा म देख्दछु । तर जुन रुपमा लालबन्दीले फड्को मार्नु पर्ने हो त्यो रुपमा फड्को मार्न भने सकिरहेको देखिन्न । ठाउँको विकास भनेको पक्की बिल्डिङ, कालोपत्रे सडक, झिलिमिली बिजुली बत्ती मात्र हो भन्ने भाष्य सृजना हुनुले आम नागरिकले समेत त्यसै अनुसार धारणा तयार गरेर विकास सम्झिएको देखिन्छ । जबकी विकास भनेको उत्पादन, रोजगार, शिक्षा–स्वास्थ्यको ग्यारेण्टीसँग जोडिएको हुन्छ भन्ने कुरा नेतृत्वले आम नागरिकसँग लग्दै लगेन । जनताले त्यो कुराको पत्तै पाएनन् । राजनितीकर्मीलाई यो नै थाहा भएन कि, उत्पादनविहिन समाज विकसित समाज हैन ।

जब समाजले उत्पादन गर्न थाल्दछ, तब नगरबासीले रोजगारको अवसर पाउँछन् । जब समाजले छिटोछरितो सरकारी सेवा पाउँछ, जब राज्यले नागरिकलाई सहि मार्गतर्फ डोर्याउछ, जब जनप्रतिनिधिहरु शासक नभएर अभिभावकत्व प्रदान गर्दछ्न् तब मात्र त्यो विकास हो ।

लालबन्दी नै केन्द्रित भएर कुरा गर्नुपर्दा यहाँ यतिधेरै तरकारी उत्पादन गर्न सक्छ कि, करिब-करिब देशको एक चौथाइ जनसंख्यालाई लगभग धान्न सक्दछ । तर किसानलाइ उत्प्रेरक अनि आकर्षक कार्यक्रमहरु आउनै सकेनन । बिघाका बिघा खेत बाँझो राखेर वा झाराटार्ने किसिमले मात्र गरेको कृषिले कसरी उत्पादनमा वृद्धि हुन्छ ? विकसित मुलुकमा कृषि गर्नेलाई सबैभन्दा उच्च श्रेणीमा राखेर हेरिन्छ भने हामिकहाँ कृषि भनेको सबैभन्दा कम पढेलेखेका, निर्धन वा कमजोर मान्छेले गर्ने कर्म हो भन्ने गलत भाष्य बनाइएको छ ।

पत्थरकोटको सिरानमा पर्ने नारायणडाँडामा आजभन्दा २० बर्ष अगाडि नै भयंकर निबुवा, कागती, अम्बा र अमृसो उत्पादन भएका थिए । त्यो प्राकृतिक रुपमा आफै उम्रेर फलेका झाङहरु हेर्दा लाग्थ्यो कि, त्याहाँ आधुनिक किसिमले निबुवा, कागती, अम्बा र अमृसो जस्ता खेती गर्न सके स्थानीय बासिन्दाले दोस्रो काम खोज्नै पर्दैन । हाल बिदेशबाट मात्रै करोडौ रुपैयाँको अम्बा आयात हुन्छ हाम्रो देशमा । त्यसतर्फ हाल स्थानिय सरकारले के गर्दैछ म अनभिज्ञ छु ।

नेपाली बजारमा उच्च मुल्यमा बिक्न सक्ने तरकारी सोइजन र मुनुगा हो । परबानिपुरको पश्चिमी भेग सतभैया, चिसापानीमा यसको उच्चतम उत्पादन भएको मैले देखेको छु । खासै धेरै लगानी नलाग्ने यस्ता स-साना कुराहरु जस्ले ठुला-ठुला अर्थहरु बोकेका हुन्छ्न । त्यस तर्फ किन नेतृत्वले सोच्दैन होला ?

एउटा साधारण प्याराग्लाइडिङ किन्नु भनेको ३/४ लाख लगानी लगाउनु हो । यसको मुख्य चुनौती भनेको उडान अनुमती लिनु वा पाउनु हो । त्यसमा स्थानिय नेतृत्वले पहल गरेर युवा ब्याबसायीलाई किन सहजिकरण गर्न सक्तैन ? पोखराको सराङकोटबाट हुनसक्ने प्याराग्लाइडिङ उडान पत्थरकोटको नारायणडाँडा, बोहोरेडाँडा र अर्नेडाँडाबाट हुन सक्छ कि सक्दैन भनेर हामिले कहिले हेर्यौ ? त्यसले आन्तरिक पर्यटन र कति रोजगारी सृजना गर्न सक्छ भनेर कहिले हेर्ने होला ?

बर्सेनि अधिक उत्पादन भएर बजार नपाएर लालबन्दीको रोडमा टमाटर फालेको मैले देखेको छु । त्यो टमाटरलाई केचबमा परिणत गर्न सके फाल्नबाट जोगिन्थ्यो र किसानले सहि मूल्य पाउँथे । केचब उद्योगलाई अनुदान र बिजुलीमा सहुलिएत सहित कर फ्री उद्योगको लागि जग्गाको ब्यवस्था जस्ता नीति ल्याएरलगानिको वातावरण बनाउन सकिन्छ । जस्ले व्यापक रुपमा रोजगारी र उत्पादमा वृद्धि गराउन सक्छ ।

नगरले कालिन्जोर खोला, फुलजोर खोला, बाहुनी खोला, लखनदेही खोलाको किनारमा बाँसको बिरुवा रोप्ने अभियान चलाउन सक्छ । जुन बिरुवाले भु–क्षय रोक्छ भने कालान्तरमा बाँसको तामाबाट वा रुखबाट नगरलाई राम्रै आम्दानी पनि गराउँछ ।

करैया, हरिभवन, जब्दीमा माछापालनको सम्भाब्यता अध्यन गरि सहुलिएत दरको बिजुली र बोरिङको ब्यबस्था मिलाइ माछाखेती गर्न सकिन्छ । कृषि घर(फार्म हाउस) होमस्टे, अर्ग्यानिक फार्म, अर्ग्यानिक तरकारी उत्पादन र त्यस्को ब्रान्डिङ गरेर देशभर नै लालबन्दीको तरकारी प्रख्यात हुनसक्छ । तर त्यस्को लागि स्थानिय सरकार नै लागिपरेर तालिम, बिउबिजन, मल र अर्ग्यानिक उत्पादनको बारेमा ज्ञान त दिनुपर्यो नि !

नेतृत्वले गर्ने भनेको सहजिकरण र दुरदर्शिता नै हो । त्यसैले त उ नेता हो र अरु जनता हुन । जो अरुले देखेको हुदैन त्यो नेतृत्वले देख्नु पर्दछ । तब मात्र उ नेता हुन्छ । सम्भावनाको खोजी नेतृत्वले नै गर्नुपर्दछ ।

लालबन्दी नगरले काठमाडौँ महानगरसँग सम्मन्यन गरेर काठमाडौमा छुट्टै ूलालबन्दी सब्जी-मन्डी राख्न पनि सक्दछ । उत्पादक किसानलाई मात्र त्यो स्टल उपलब्ध गराउने हो भने, उत्पादनको अधिकतम मूल्य किसानले नै लिन सक्छ्न । बिचौलिया बिहिन ब्यवसाय हुन सक्दछ ।

पुरै नगरलाई चलाएमान बनाउन समय–समयमा वा महिनामा एकपटक फरक–फरक ठाउँमा फरक–फरक जातिय विशेषको खाना मेला आयोजना गर्नु पर्दछ । बैशाखमा जब्दिमा थारु फुड फेस्टिभल, जेठमा हिरापुरमा कोइरी फुड फेस्टिभल, असारमा पुनर्बासमा पासवान फुड फेस्टिभल, श्राबणमा जियाजोरमा माझी फुड फेस्टिभल, भदौमा सतभैयामा मगर फुड फेस्टिभल, असोजमा परबानिपुरमा तामाङ फुड फेस्टिभल गर्दा हुने भयो । यसले सबै जात जातिमा अपनत्वको भावना सृजना गर्दछ र आन्तरिक पर्यटन र व्यापारलाई प्रबर्द्धन गर्दछ ।

लालबन्दी नगरबासीहरुसँग निजि वन, सामुदायिक वन र साझेदारी वन पनि छ । ती वनबाट बिक्रि हुने काठलाइ साना–साना आधुनिक र एेतिहाँसिक कास्ठकला सामाग्री बनाउने तालिम र फर्म दर्ता र बजार प्रवद्र्धनमा सहजिकरण तथा बिजुलीमा सहुलियत प्रदान गर्न सके यस्को व्यापक सम्भाबना छ । हिजोआज होटल, रेस्टुरेन्ट, पार्क, सिटि मार्केट, सुपर मार्केट र महलहरुमा समेत साना–साना काठका हलो, जुवा, जाँतो, मादल, बासुरी,आँखिझ्याल, स्ट्रे, पानी घट्टहरु काठको राखेर सजाइएको देखिन्छ । यो कास्ठकलाका सामाग्रीहरु बिदेश निर्यात गर्न पनि सकिन्छ । तर आज जुन काठहरु चट्टा बनाएर न्यून मुल्यमा दाउराको रुपमा बेचिदैछ ।

लालबन्दीलाई पुर्ण प्लास्टिक निशेधित क्षेत्र घोषणा गरि सालको पातबाट बनेका दुना, टपरी, भोर्ला र जुटको झोलाका स-साना घरेलु उद्योगहरु चल्न थाल्ने छ । यस्ले वाताबरण, रोजगार र आन्तरिक व्यापारलाई उत्साह थप्ने छ । मुलतः नेतृत्वको ध्यान उत्पादन भएका चिजलाई कसरी बजारिकरण गर्ने र बेरोजगार लाई कसरी उत्पादनसँग जोड्ने भन्ने विषयमा नै केन्द्रित हुनुपर्दछ भन्ने मेरो बुझाइ हो ।

यसबर्ष काठमाडौ महानगरले बेरोजगार ३५ सय जनालाई प्रत्यक्ष रोजगारीसँग जोड्न सफल भएको डाटा निकालेको छ । अनि हाम्रो नगरले यसपाली के २०० जना बेरोजगारलाई रोजगारीमा जोडन सक्यो कि सकेन ? चुरो कुरो त्यही नै हो । बर्षको २०० जना मात्र पनि रोजगारीमा जोडिदै जाने हो भने ५ बर्षमा १ हजार जना रोजगार मुलक हुने भए । त्यो भनेको अत्यन्त राम्रो लक्षण हो ।

अचेल सरकारी कार्यालयहरुमा जुन झन्झटिलो प्रक्रिया छ, त्यो नै उत्पादनको प्रमुख बाधक हो । हो यहीनेर नै नागरिकालाइृ स्थानिय सरकारको साथ र सहजिकरण चाहिएको हुन्छ । जब यी कुराहरुमा नेतृत्व चनाखो हुन्छ तब मात्र जनता ले नेतृत्वलाइ भरोसा गर्छन् । नत्र एक्काइसौं शताब्दीका जनता बालेन, गोपि हमाल र हर्क साङ्पाङको खोजीमा निस्कन्छ्न् ।

(लालबन्दी नगरपालिका-१६, निवासी लेखक हाल काठमाडौंमा बस्दै आएका छन्)