logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

किसानको उत्पादन सोझै बिक्री गर्न राष्ट्रिय खाद्य बैंकसँग समन्वय गरिने


  • उज्यालो अभियान

बयलवास, २१ साउन – सर्लाहीको ईश्वरपुर नगरपालिकाले किसानले उत्पादन गरेका कृषि उपज सोझै उपभोक्तामाझ पुर्याउन राष्ट्रिय खाद्य बैंकसँग समन्वय गर्ने भएको छ ।

त्यसकै लागि आज नगरपालिका र बैंकको संयुक्त आयोजनामा बयलवासस्थित नगरपालिकाको कार्यालयमा ‘कृषकको आलीदेखि उपभोक्ताको थाली’ सम्म भन्ने मूल नारासहित बृहत अन्तरक्रिया गरिएको हो । बैंकले अन्तरक्रियामा किसानलाई तरकारी खेती, अन्य बाली र ईश्वरपुरमा धेरै हुने माछापालनका लागि पनि के–कस्ता किसिमको सहयोग आवश्यक छ ? र त्यसको बजारीकरणका लागि के–कस्ता किसिमको सहयोग गर्न सकिन्छ ? भनी जनप्रतिनिधि, अन्य सरोकारवाला र किसानसँग सल्लाह सुझाव लिएको छ ।

माछापालक किसान पुरुषोत्तम बडालले बिचौलियाका कारण माछाको मूल्य नपाइरहेको अवस्थामा राष्ट्रिय खाद्य बैंकले बिचौलियाको रजगज हटाइ सोझै किसानले उपभोक्तालाई बेच्ने व्यवस्था मिलाइदिए लाभ मिल्ने आश व्यक्त गरे । अहिले विद्युत प्राधिकरणले माछापालनलाई उद्योगमा राखिँदिदा बिजुलीको महशुल तिरेर ढाड सेक्किरहेको अवस्थामा किसानले बिचौलियालाई नअंगाली सोझै उपभोक्ताले किन्ने मूल्य पाउन पाए ठूलो राहत मिल्ने उनले बताए ।

कार्यक्रममा सहभागी छिमेकी जिल्ला धनुषाको मिथिला नगरपालिकाकी उपमेयर सुनिता सिंह बुढाथोकीले किसानको हरेक उत्पादनमा बिचौलिया हाबी भइरहेको अवस्थामा खाद्य बैंकले किसानलाई कृषि उपज फलाउन र फलाएपछि किनिदिन प्रभावकारी भूमिका खेलिदिए अहिले धुरुधुरु रुन बाध्य किसानको मुहारमा खुसी छाउने बताए ।

किसानले दुःखजिलो गरेर फलाएको उत्पादनले बजार नपाउने र पाएपनि बिचौलियालाई सस्तोमा बेच्नुपर्दा वैदेशिक रोजगारीमा जानेहरु बढेको भन्दै उपमेयर सिंहले किसानको पीडा बुझ्ने अहिले कोही नरहेको बताईन् ।

ईश्वरपुरका मेयर मनोजकुमार आचार्यले राष्ट्रिय खाद्य बैंकले ईश्वरपुरमै प्रादेशिक कार्यालय खोलेर मधेश प्रदेशमा समेत काम गर्ने प्रस्ताव ल्याउँदा हर्षित भएको बताए । उनले बैंक भर्खरै समन्वय गर्न आइपुगेको र किसानका लागि के–कस्ता काम गर्न सकिन्छ ? त्यसविषयमा निरन्तर पहल गरिरहने उल्लेख गरे ।

मेयर आचार्यकै अध्यक्षतामा आयोजित अन्तरक्रियामा राष्ट्रिय खाद्य बैंकका सल्लाहकार दीपेन्द्र बहादुर क्षेत्री, अध्यक्ष शंकरनाथ उप्रेती, प्रवन्ध निर्देशक जिपी ढुंगेललगायतले मन्तव्य राखे ।