मलंगवा, १७ साउन – सर्लाही भन्सार कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ७२ प्रतिसत मात्र राजस्व सङ्कलन गरेको छ ।
एक वर्षमा ६७ करोड ३९ लाख ९३ हजार रुपियाँ राजस्व उठाउने लक्ष्य पाएको कार्यालयले ४८ करोड ६९ लाख ८४ हजार ७२४ रुपियाँ राजस्व असुली गरेको भन्सार अधिकृत उषा पोखरेलले जानकारी दिईन् । भन्सार कार्यालयले भारतबाट आयात भएको वस्तुको मात्रै २० करोड ३४ लाख ८७ हजार ८०० रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
खुला सीमा, चोरी तस्करीलगायतका कारण लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको भन्सार कार्यालयकी प्रमुख पोखरेलले बताईन् । जिल्लामा मलङ्गवा जिल्ला भन्सार कार्यालयसहित आठवटा छोटी भन्सार कार्यालय रहेकोमा मलङ्गवाको मुख्य भन्सार कार्यालय र त्रिभुवननगरस्थित एउटा मात्रै छोटी भन्सार कार्यालय सञ्चालनमा छन् ।
अन्य भन्सार कार्यालय लामो समयदेखि बन्द छन् । कर्मचारी र संरचना अभावका कारण छोटी भन्सार कार्यालय सञ्चालन हुन नसकेको जनाइएको छ । राजस्व कम सङ्कलन हुनुको कारण छोटी भन्सार कार्यालयहरु बन्द हुनु पनि रहेको भन्सार अधिकृत पोखरेलले बताईन् ।
चालू आर्थिक वर्ष २०८१/८२ मा सर्लाही भन्सार कार्यालयले ५८ करोड ७६ लाख ६३ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ ।