फाइल तस्बीर ।
हरिपुर, ०१ साउन – सर्लाहीमा यो वर्ष चैते धानको उत्पादन बढेको छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीले जिल्लामा यस वर्ष चैते धानको खेती बढेको र उत्पादन पनि वृद्धि भएको जनाएको हो । कार्यालयका प्रमुख देवानन्द रायले जिल्लाभर नै चैते धानको उत्पादन राम्रो देखिएको उज्यालो अभियानसँग बताए । यादवले भने, “यो वर्ष जिल्लाको सबैभेगमा चैते धान राम्रो फलेको छ ।”
सर्लाहीमा २० वटै पालिकामा चैते धान खेती हुने गरेको छ । चैते धान रोप्ने बित्तिकै खडेरीले केही समय प्रभाव पारेपनि त्यसपछि भने वर्षाले साथ दिँदा चैते धान राम्रो फलेको किसानले बताएका छन् ।
खेती विस्तार भएकै साल चैते धानको उत्पादन बढेपछि किसान हौसिएका छन् । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले चैते धानमा रोग, कीराको प्रकोप नदेखिएकाले उत्पादन वृद्धि भएको जानकारी दिए । “चैते धानमा रोग, कीरा नै देखिएन, त्यसैले पनि उत्पादन राम्रो भएको छ,” पौडेलले भने ।
लालबन्दी नगरपालिकाभित्र अब केही किसानले मात्रै चैते धान भित्र्याउन बाँकी रहेको नगरपालिकाको कृषि शाखाले जनाएको छ । शाखा प्रमुख पौडेलले धान उत्पादन बढाउने लक्ष्य लिएको सरकारले चैते धानतर्फ किसानलाई आकर्षित गर्न ध्यान दिए लक्ष्य पूरा गर्न ठूलो मद्धत पुग्ने बताए ।
जिल्लाका किसानले चैते धान भित्र्याउने बित्तिकै वर्षे धान रोप्ने गरेका छन् । सिँचाई सुविधा भएको ठाउँमा गरिने चैते धान यस वर्ष जिल्लाभर नै राम्रो फलेको र खेती पनि सफल भएको भन्दै कृषि प्राविधिकले चैते धान प्रवद्र्धन गर्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।