झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानकाे नाम परिवर्तन पश्चात राष्ट्रिय स्वास्थ्य विज्ञान तथा अनुसन्धान परिषद् एन्टीभेनम उत्पादन तथा अनुसन्धान केन्द्र नेपालको लालबन्दी स्थित कार्यालयसँगै नेपाल सरकार अन्तर्गत नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सम्पर्क कार्यालय स्थापना भएसँगै सामुहिक तस्बिर खिचाईंदै । (फाईल तस्बीर : उज्यालो अभियान)
काठमाडाैं, २५ असार – झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमार यादवलाई ९ वर्ष कैद सजाय भएको छ ।
विशेष अदालतले मङ्गलबार पूर्वमन्त्री यादवलाई ९ वर्ष १ महिना कैद सजाय सुनाएको हो ।
विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवाना हुने फैसला विशेषले गरेको छ ।
त्यसैगरी अन्य प्रतिवादीहरू लक्ष्मणप्रसाद यादव, रामदरास राउत, शेरबहादुर राउत, कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीलाई जनही दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।
त्यसैगरी लक्ष्मणप्रसाद यादव र रामदरस राउतलाई थप तीन महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा विशेषले यही असार ११ गते तत्कालीन मन्त्रीसहित ५ जनालाई दोषी ठहर गरेको थियो ।
त्यस्तै रेवतीप्रसाद पन्त, नवराज भण्डारी, देवेन्द्र राय र निरज भण्डारीलाई जनही ८/८ वर्ष कैद हुने फैसला भएको छ ।
यस्तै उनीहरू सबैलाई जनही तीन करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवानासमेत गरिएको छ ।
(लाेकान्तरडटकमबाट)