बिजेता युनिक फुटबल क्लबको टिम । (तस्बीर : सोनाम तामाङको फेसबुकबाट)
लालबन्दी, २२ असार – सर्लाही जिल्ला लिग फुटबल प्रतियोगिता–२०८१ को उपाधि युनिक फुटबल क्लब लालबन्दी १७ रानिगन्जले जितेको छ ।
लालबन्दी ६ स्थित राधाकृष्ण फुटबल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा जनज्योति स्पोर्टस् क्लब लालबन्दी ९ बस्तीपुरलाई १–० गोलले स्तब्ध पार्दै युनिक फुटबल क्लब च्याम्पियन बनेको हो । युनिकको जितमा खेलको ५१ औँ मिनेटमा डम्बरबहादुर विश्कर्माले गरेको गोल नै निर्णायक बन्यो ।

खेलाडीसँग हात मिलाउँदै एन्फा अध्यक्ष नेम्वाङ ।
जितसँगै युनिक फुटबल क्लबले ५० हजार नगदसहित प्रथम ट्रफी उचालेको छ । उपबिजेता जनज्योति स्पोर्टस् क्लबले २५ हजार नगदसहित दोस्रो ट्रफी प्राप्त गरेको छ ।

उपबिजेता जनज्योतिलाई पुरस्कार हस्तान्तरण गरिँदै ।
फाइनल खेलमा बिजेता क्लबका लागि निर्णायक गोल गर्ने डम्बरबहादुर विश्वकर्मा नै ‘म्यान अफ दि म्याच’ बने । प्रतियोगितामा वेष्ट गोलकिपर युनिक फुटबल क्लबका चित्रकुमार राना मगर, वेष्ट डिफेण्डर जनज्योति स्पोर्टस् क्लबका विकास हेन्जन, वेष्ट मिडफिल्डर जनज्योतिकै लक्की स्याङतान, वेष्ट फरवार्ड युनिक फुटबल क्लबका अमृत गौतम, प्रतियोगिताको सर्वाधिक गोलकर्ता युनिकका सविन बल (चार गोल), वेष्ट प्रशिक्षक युनिककै श्याम कटुवाल र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा युनिक फुटबल क्लबकै डिफेण्डर विकास माझी घोषित भए ।
उनीहरु प्रत्येकलाई जनही दुई हजार एक सय रुपैयाँसहित पुरस्कृत गरिएको छ । जिल्ला फुटबल लिगको समापन समारोहमा भर्खरै बि डिभिजनमा बढुवा हुन सफल सर्लाहीको बागमती युवा क्लब र क्लबका खेलाडीलाई पनि सर्लाही जिल्ला फुटबल संघले सम्मानपत्रसहित शुक्रबार नै सम्मान गरेको छ ।

निर्णायकलाई बल हस्तान्तरण गर्दै एन्फा अध्यक्ष नेम्वाङ, उपाध्यक्ष लामा र अन्य ।
सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुस्लिङ (विष्णु) को अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङको प्रमुख आतिथ्यतामा आयोजित सर्लाही जिल्ला लिग फुटबलको समापन समारोहमा एन्फा उपाध्यक्ष दावा लामा, मधेश प्रदेश अध्यक्ष नेपाल कार्की, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यलगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । असार ५ गतेदेखि ९ वटा क्लबको सहभागितामा सुरु भएको प्रतियोगिताको शुक्रबार समापन गरिएको हो ।

बी डिभिजनमा बढुवा हुन सफल बागमती युवा क्लबलाई सम्मान गरिँदै ।
प्रतियोगिताको अन्य खेलहरु लालबन्दी १७ रानिगन्जस्थित फुटबल मैदानमा खेलाइएकोमा फाइनल खेल भने भर्खरै स्तरोन्नति गरिएको लालबन्दी ६ स्थित राधाकृष्ण फुटबल मैदानमा खेलाइएको सर्लाही जिल्ला फुटबल संघका महासचिव कुलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको दोस्रो नगद राशी (२५ हजार) रुपैयाँ ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले व्यक्तिगत तर्फबाट प्रदान गरेका हुन् ।