logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्पले डसेको आशंकामा मन्त्री सिंह १२ घण्टा अस्पताल भर्ना


  • उज्यालो अभियान

अस्पतालको बेडमा बसिरहेकी मन्त्री सिंह ।

नवलपुर, १७ असार – मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री उर्मिला देवी सिंह चौधरी सर्पले डसेको आशंकामा १२ घण्टा अस्पताल भर्ना भएर आज दिउँसो डिस्चार्ज भएकी छन् ।

ईश्वरपुर नगरपालिका ९ रामनगर निवासी मन्त्री सिंह नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा १२ घण्टा चिकित्सकको निगरानीमा रहेर घर फर्किएकी हुन् । उनलाई घरमा सुतिरहेका बेला गएराति २ः५० बजेतिर अज्ञात जीवले हातमा टोकेको थियो ।

अध्यारोमा के ले टोक्यो भनी देख्न नपाएपछि सर्पले डसेको आशंकामा तत्कालै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइयो । नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जग्गनाथ यादवले मन्त्री सिंहलाई १२ घण्टा ‘अब्जरभेसन’ मा राखेर घर पठाएको उज्यालो अभियानलाई जानकारी दिए ।

उनले मन्त्री सिंहको शरीरमा कुनै विषालु जीवले टोकेको लक्षण नदेखिएपछि एन्टी स्नेक भेनम नचढाई निगरानीमा मात्रै राखेर घर पठाइएको बताए । डिस्चार्ज भएर घर फर्किएकी मन्त्री सिंहले आफूलाई प्रदान गरेको सेवाप्रति अस्पताल र चिकित्सकलाई धन्यवाद ज्ञापन गरेकी छन् ।

उनले आफै आएर अस्पताल भर्ना हुँदा यहाँको समस्याबारे जानकार भएको भन्दै प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता पनि जनाईन् ।

नवलपुरको सर्पदंश उपचार केन्द्रमा विशेषज्ञ र केही उपकरणको अभावमा लामो समयदेखि भेन्टिलेटर र आइसियु थन्काएर राखिएको छ । जसका कारण सर्पले डसेर गम्भीर अवस्थामा ल्याइएको बिरामीको उपचार हुन सकिरहेको छैन् ।