logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नहरमा पानी नछाड्दा धानको बिउ सुक्यो


  • उज्यालो अभियान

लालबन्दी, ०४ असार – बागमती सिँचाई आयोजनाले नहरमा पानी नछाड्दा धानको बिउ सुक्न थालेको किसानले गुनासो गरेका छन् ।

पर्याप्त आकाशे वर्षा नभएको समयमा सिँचाई आयोजनाले पनि नहरमा पानी बन्द गरेपछि धानको बिउ सुक्न थालेको हो । लालबन्दी नगरपालिका–४, हरिभवनका किसान केदार कार्कीले नहरमा पानी नआउँदा धानको बिउ सुक्न थालेको दुःखेसो पोख्नुभयो । उहाँले धान रोपाइँको सुरसारमा रहेका बेला पानी नभएर धानको बिउ नै सुक्न थालेको गुनासो गरेका छन् ।

कार्कीका अनुसार हरिभवन र हरिपुर फाँटमा पानी नभएर अधिकांश किसानको धानको बिउ सुकेर गइरहेको छ । बागमती सिँचाई आयोजना कर्मैयाले भने अब केही दिनभित्रै नहरमा पानी पठाउने जनाएको छ ।

आयोजनाले सर्लाही र रौतहट दुवैतर्फका किसानलाई सिँचाई सुविधा दिँदै आएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रणधीर साहले केही दिनदेखि सर्लाहीतर्फको नहर सुकाएर रौतहटतर्फको नहरमा पानी छाडिएको जानकारी उज्यालो अभियानसँग बताए ।

साहले अब केही दिनभित्रै सर्लाहीतर्फ पनि सबै नहरमा पानी सूचारु गरिने बताए । साहका अनुसार आयोजनाले धानको बिउकै लागि भनेर जेठ २० देखि २६ सम्म सर्लाहीतर्फका किसानका लागि पनि पानी वितरण गरेको थियो ।

साहले अब धान रोपाइँ पनि सुरु हुने बेला भएकाले सबै नहरमा पानी छाड्ने तयारी गरिएको बताए ।