हरिवन, ३१ जेठ – नेपाल पत्रकार महासंघ सर्लाही शाखाले आज हरिवनमा गरेको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।

महासंघले २० औँ विश्व रक्तदाता दिवसको अवसरमा हरिवन नगरपालिकाको आर्थिक सहयोग तथा रक्तसञ्चार सेवा केन्द्र धनुषा र भैरवीदल गण पाँचकुमारी ब्यारेकसँग सहकार्य गरी हरिवन-११ स्थित सगुन सहकारी अगाडि आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ७५ जनाले रक्तदान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीका अनुसार १३ जना संचारकर्मी, २५ जना सुरक्षाकर्मी र अन्य ३७ जना सर्वसाधारणले कार्यक्रममा सहभागी भई रक्तदान गरेका छन् । एकदम छाेटाे तयारीमा समेत आफूहरुले अपेक्षा गरे भन्दा पनि उल्लेख्य सर्वसाधारण सहभागी भएर रक्तदान गरेकोमा खुसी लागेको पत्रकार महासंघका अध्यक्ष क्षेत्रीले बताए ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटीद्वारा संचालित रक्त सञ्चार केन्द्र (ब्लड बैंक) धनुषा पठाइएको छ ।
हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानद्वारा उद्घाटन रक्तदान कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, भैरवीदल गण पाँचकुमारीका गणपति एवं प्रमुख सेनानी सूर्यबहादुर कार्की, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण अगर्वाका निमित्त गणपति एवं सशस्त्र प्रहरी नायब उपरीक्षक रोहितबहादुर घिमिरे, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी, बागमती सेवा समाज नेपालका पूर्व अध्यक्ष भरतकुमार कार्कीलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहजिकरण गर्न सहयाेग गर्ने स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रशंसापत्र र गम्छा ओढाएर सम्मान गरिएकाे तथा रक्दतातालाई प्रमाणपत्र समेत उपलब्ध गराउने तयारी भईरहेकाे अध्यक्ष क्षेत्रीले जानकारी दिए । कार्यक्रम सफल रुपले सम्पन्न गर्न यथाशक्य सहयाेग पुर्याउने सम्पूर्णमा अध्यक्ष क्षेत्रीले हार्दिक आभार समेत प्रकट गरे ।

