हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)
हरिवन, २८ जेठ – गर्मी अत्यधिक बढेर विद्यार्थी प्रभावित बन्न थालेपछि सर्लाहीको हरिवन नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।
नगरपालिकाले आज सूचना जारी गरी चर्को घाम, उच्च तापक्रम र तातो हावाका कारण पठनपाठन सञ्चालन गरिरहँदा विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएको भन्दै शुक्रबारसम्म नगरभित्रका सम्पूर्ण विद्यालय बन्द रहने जानकारी दिएको हो । हरिवन नगरपालिकाको शिक्षा शाखाका संयोजक रुसस्टालिन चौलागाईंले भोली मङ्गलबारदेखि आगामी शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिए ।
अत्यधिक गर्मी भएपछि हरिवन नगरपालिकाले मध्य जेठमा पनि केही दिन विद्यालय बन्द गराएको थियो । पानी परेर गर्मी कम भएपछि पठनपाठन सूचारु गरिएकोमा विगत केही दिनदेखि फेरि असाध्य गर्मी हुन थालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा अधिकृत चौलागाईले बताए ।
सर्लाहीसहित तराईका जिल्लामा विगत चार दिनदेखि अत्यधिक गर्मी बढ्दा जनजीवन आक्रान्त बनिरहेको छ । गर्मीले विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुन थालेको छ भने विद्यालय आएका विद्यार्थी आलश्य भएर बस्ने, गर्मीले बेहोस हुने जस्ता समस्या देखिन थालेको शिक्षकले बताएका छन् ।