जानकीनगर, २७ जेठ – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा रहेको हरिहर जनता आधारभूत विद्यालयमा पूर्व विद्यार्थीले आज पङ्खा सहयोग गरेका छन् ।
अत्यधिक गर्मीका कारण विद्यार्थीलाई कक्षाकोठामा बसेर अध्ययन गर्न समस्या भएपछि विद्यालयका पूर्व विद्यार्थीले सात थान पङ्खा उपलब्ध गराएका हुन् । पूर्व विद्यार्थीले विद्यालयलाई तीन क्वाइल तार, एमसीबी स्वीच र बोर्ड समेत हस्तान्तरण गरेका विद्यालयले जनाएको छ ।
सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको सदस्य तथा वडा सदस्य तालिमाया लामाले कक्षा ६ मा अध्ययनरत २५ जना विद्यार्थीलाई टिफिन बक्स उपलब्ध गराएका विद्यालयका शिक्षक पप्पुकुमार गुप्ताले जानकारी दिए ।
हरिपुर नगरपालिकाको कार्यपालिका सदस्य हीरा विश्वकर्मा, वडा सदस्य तालिमाया लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर मगरको रोहबरमा विद्यालयलाई पङ्खासहितका सामग्री हस्तान्तरण गरिएको छ ।