logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रासायनिक मल अभावले किसान चिन्तित


  • उज्यालो अभियान

मलंगवा, ०८ जेठ – वर्षा भएसँगै खेतीबालीमा हाल्नुपर्ने रासायनिक मलखाद नपाउँदा सर्लाहीका किसान चिन्तित बनेका छन् ।

हाल उखु लगायत पूरानाे बालीमा युरिया तथा नयाँ लगाउने बालीमा डीएपी हाल्न पाए उत्पादन बढ्ने भएपनि पर्याप्त मलखाद नपाउँदा किसान चिन्तित बनेका हुन् । विगत वर्षहरुमा जस्तै खेती लगाउने मुख्य सिजन सुरु हुने समयमा माग अनुसार युरिया, डिएपी र पोटास जस्ता मलखाद नपाउँदा किसानले हैरानी व्यहाेर्नु परेकाे छ ।

अहिले किसानले आफ्नो बारिमा लगाएको उखु, मकै,चैते धान, तरकारी लगाएत बालीमा पर्याप्त मलखाद हाल्न पाएका छैनन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले मलखादकाे अभावमा उखु बालीकाे उत्पादन घट्ने भन्दै चिन्ता व्यक्त गरे । `किसानले उखु गोडमेल गरि सकेर मलखाद दिने बेला भैसक्याे, तर मल अभावले सम्पूर्ण किसान चिन्तित छन्’, मैनालीले भने, `वर्षाले खुशी भएका किसान मल अभावले दुःखी बन्न पुगेका छन् ।’

किसानको माग अनुसार मल नआएकाले अभाव भएकाे कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख ध्रुव प्रसाद साहले बताए । सहाका अनुुसार सर्लाहीमा युरिया १५ हजार मेट्रिक टन माग रहेपनि केन्द्रबाट ६ हजार मेट्रिक टन मात्र आउने गरेको छ । त्यस्तै १० हजार मेट्रिक टन डीएपी माग भएपनि ५ हजार मेट्रिक टन तथा पोटास १५ सय मेट्रिक टन माग रहेकामा २०० मेट्रिक टन मात्र आईरहेको साहले बताए । सर्लाहीले पाउँदै आएको कोटा बढाउनका लागि मन्त्रालयमा लिखित पत्राचार समेत गरिएकाे साहकाे भनाई छ ।