logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

शैक्षिक गुणस्तर सुधार गर्न १० दिनसम्म अतिरिक्त क्रियाकलाप


  • उज्यालो अभियान

हरिवन, ०४ जेठ – शैक्षिक स्तर उकास्ने मुख्य उद्देश्य राखी हरिवन नगरपालिका ८ मा १० दिनसम्म विद्यार्थीलाई सहभागी गराई अतिरिक्त क्रियाकलाप गरिएको छ ।

हरिवन ८ को वडा कार्यालयले पहल गरी वडाभित्रका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत् करिव २५० जना विद्यार्थीलाई सहभागी गराएर अतिरिक्त क्रियाकलाप संचालन गरेको हो । वडाभित्रका विद्यार्थी जहाँ पढेको भएपनि १० दिनसम्मको हाजिरीजवाफ, वतृत्वकला, वादविवाद, गायन, नृत्य, कविता वाचन, कथा वाचन, चित्रकलालगायतको प्रतियोगितामा सहभागी गराइएको छ ।

अतिरिक्त क्रियाकलाप संचालन गर्न चुरे आधारभूत विद्यालयका प्रधानाध्यापक डिल्लीराम भट्टराई, जनजागृति माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षक विनोद भट्टराई र महादेव जनता नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक जयशंकर सिंह सदस्य रहेको समिति गठन गरिएको थियो । सोही समितिले आजसम्ममा अतिरिक्त क्रियाकलाप सम्पन्न गराएको हो ।

अतिरिक्त क्रियाकलापका बिजेता विद्यार्थीलाई आज चुरे आभारभूत विद्यालय चापिनीमा एक कार्यक्रमको आयोजना गरी हरिवनका मेयर रमेश बुढाथोकी (कमल), उपमेयर हरिमाया घलान, वडाध्यक्ष प्रज्वल ढुंगानालगायत भएर पुरस्कार वितरण गर्दै प्रतियोगिताको समापन गरेका छन् । यस प्रकारको क्रियाकलापले विद्यार्थीलाई अझ उर्जा थप्ने विश्वास गरिएको वडाध्यक्ष ढुंगानाले बताए ।