बाराउद्योरण, २२ बैशाख – सशस्त्र प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–१, बाराउद्योरणस्थित पूर्वारी टोलका आगलागी पीडितलाई शनिबार बिहान राहत प्रदान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बाराउद्योरणका आगलागी पीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । पीडित परिवारलाई बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले राहत सामग्री वितरण गरेका छन् ।
पीडित परिवारलाई एक थान कम्बल, एक थान तन्ना, एक थान तन्नाको खोल, एक थान सिरानी, एक थान सिरानीको खोल, एक थान थाल, एक थान कचौरा, एक थान गिलास र एक थान पानीखाने बोतल प्रदान गरिएको सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले बताए । उनले आगलागी पीडितलाई थोरै भएपनि सहयोग पुगोस् भनी सशस्त्र प्रहरीको तर्फबाट राहत प्रदान गरिएको जानकारी दिए ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक शाहले आगलागी पीडितलाई यस्तो दुःखको घडीमा सबै मिलेर बस्न अनुरोध गरे । उनले मधेश प्रदेशमा सर्लाही, महोत्तरी, सप्तरीसहितका जिल्लामा आगलागीबाट व्यापक जनधनको क्षति भइसकेको भन्दै सावधानी अपनाउन समेत स्थानीयसँग आग्रह गरेका छन् ।
राहत वितरण कार्यक्रममा उपस्थित विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी मारेर ठूलो सहयोग प्रदान गरेको भन्दै धन्यवाद् ज्ञापन गरे । उनले यस्तै आपतविपद् परेको समय तथा सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी अपरिहार्य रहेकाले जग्गाको व्यवस्थापनसहित अन्य सरसहयोग गरेर सशस्त्र प्रहरीको क्याम्प राखिएको उल्लेख गरेका छन् ।
राहत वितरण कार्यक्रममा सशस्त्रका डिआइजी शाह, गाउँपालिका अध्यक्ष यादवसहित सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्का, बोर्डर आउट पोष्ट (बीओपी) बाराउद्योरणका सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनाली, बलरा नगरपालिका–१, का वडाध्यक्ष बिकाउ ठाकुरलगायतको उपस्थिति रहेको थियो ।
बिहीबार दिउँसो भएको आगलागीबाट बाराउद्योरणका ६० बढी घर जलेर नष्ट भएका थिए ।