लालबन्दी, २० बैशाख – १३ वर्ष मूनिको टिममा सर्लाहीबाट छनौट भएका ४ जना खेलाडीलाई आज सम्मान गरिएको छ ।
सर्लाही जिल्ला फुटबल संघले आज लालबन्दी ५ स्थित राधाकृष्ण फुटबल मैदानमा एक कार्यक्रमको आयोजना गरी देशभरबाट भएको छनौटमा सर्लाहीबाट यू–१३ टिममा समावेश हुन सफल सर्लाहीका ४ जना खेलाडीलाई सम्मान गरेको हो । सर्लाहीबाट लालबन्दी १ का आदेश दास, लालबन्दी १७ का आदित्य बलम्पाकी, बागमती ४ का प्रित मगर र हरिवन ३ का युजेनमान लोप्चन छनौट भएका छन् ।
उनीहरुलाई सर्लाही जिल्ला फुटबल संघले प्रोत्साहनस्वरुप सम्मान गरेको हो । सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष ठाकुरबहादुर सुस्लिङ (विष्णु), ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, लालबन्दी नगरपालिका १७ का वडाध्यक्ष विष्णु अधिकारी, हरिवन नगरपालिका ४ का वडाध्यक्ष दीपमान लोप्चनलगायत भएर सम्मान गरेका छन् ।
मधेश प्रदेशभरीमा सर्लाहीबाट सबैभन्दा धेरै ४ जना खेलाडी छनौट भएका सर्लाही जिल्ला फुटबल संघका महासचिव शिवहरि गौतमले जानकारी दिए ।
खेलाडीको सम्मान कार्यक्रममा सर्लाही जिल्ला फुटबल संघका उपाध्यक्ष विभुसिंह थापा, फुटबल प्रशिक्षक द्वय अर्जुन चौधरी र श्याम कटुवाल, सुरज कार्कीलगायतको उपस्थिति रहेको थियो ।