जब्दी, बैशाख १६ – आकाशे वर्षा नहुँदा चैते धान सुक्न थालेपछि सर्लाहीका किसान चिन्तित बनेका छन् ।
चैते धान रोपेदेखि पानी नपर्दा खेतमा धाजा फाटेको छ । यो वर्ष जिल्लामा चैते धान खेती विस्तार भएको अवस्थामा सुरुमै खडेरीले प्रभाव पारेको हो । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले यो वर्ष दोब्बर बढी क्षेत्रफलमा चैते धान रोपिएकोमा आकाशे वर्षा नहुँदा बाली प्रभावित बनेको बताए ।
पौडेलले वर्षा नहुँदा पानीको लियर नै कम भएर स्यालो ट्यूबेलमा समेत पानी आउन छाडेकाले चैते धानलाई सिँचाईको समस्या भएको बताए । “यो वर्ष हाम्रो पालिकाभित्र चैते धानको खेती दोब्बर बढीले विस्तार भएको थियो तर सुरुमै वर्षाले साथ दिएन,” कृषि शाखा प्रमुख पौडेलले भने, “पानीको लियर नै दिनानुदिन झनझन तल जाँदा स्यालो ट्यूबेलमा पानी आउन छाडेको छ ।”
कृषि शाखा प्रमुख पौडेलका अुनसार यो वर्ष लालबन्दी नगरपालिकाभित्र करिव ३०० हेक्टर जग्गामा चैते धान खेती भएको छ । लालबन्दी नगरपालिकाको जब्दी र हरिभवन क्षेत्रमा चैते धानको बढी खेती हुने गरेको छ ।
सिँचाईको सुविधा भएको ठाउँमा मात्रै चैते धान खेती हुने गरेको तर आकाशे वर्षा नै नभएर पानीको लियर तल जाँदा समस्या परेको किसानले बताएका छन् ।
चक्रघट्टा गाउँपालिकाको कृषि शाखाका प्रमुख रामईश्वर राय यादवले आफ्नो पालिकाभित्र गत वर्षदेखि चैते धान खेती सुरु भएको बताए । “चक्रघट्टामा गत वर्षदेखि किसानले चैते धान खेती गर्न थालेका छन्, अहिले करिव १५ हेक्टर जतिमा चैते धान लगाइएको छ,” यादवले भने, “अहिलेसम्म त डिपबोरिङबाट पानी आइरहेको छ तर अझै खडेरी लम्बियो भने हाम्रोतिर पनि सिँचाईको समस्या पर्ने देखिन्छ ।”
वर्षा भएको भए चैते धानमा यतिबेला हरियो फिरिसक्थ्यो । तर पानी नपर्दा अधिकांश खेतमा धाजा फाटेर बाली नै सुक्न थालेको छ ।
चैते धानबाट राम्रो आर्जन भएपछि धेरै किसानले यो वर्षदेखि चैते धान लगाउन थालेकोमा यो वर्ष नै वर्षाले साथ नदिँदा चिन्ता थपिएको छ ।