लालबन्दी, १३ बैशाख – सर्लाहीको लालबन्दीस्थित थोक तरकारी बजारमा किसानले दुई महिनामा उन्नाइस करोड बढीको तरकारी बिक्री गरेका छन् ।
कृषि थोक बजार व्यवस्थापन समितिका अनुसार लालबन्दी ७ डुमडुमेस्थित तरकारी बजारबाट फागुन र चैत महिनामा किसानले बिक्री गरेको १९ करोड बढीको तरकारी बाहिरी बजारमा निकासी भएको छ । फागुन महिनामा मात्रै लालबन्दी तरकारी बजारबाट १० करोड सात लाख ५६ हजार ८७ रुपियाँको तरकारी अन्यत्र निकासी भएको छ ।
किसानले फागुन महिनामा गोलभेँडा मात्रै चार करोड ७३ लाख ४२ हजार ८८७ रुपियाँ र सिमी एक करोड ५७ लाख ३६ हजार ८७५ रुपियाँको बिक्री गरेका छन् । फागुन महिनामा हरियो खुर्सानीबाट ७१ लाख ४६ हजार रुपियाँ, कोभीबाट ४५ लाख ९३ हजार ७५० रुपियाँ, बन्दाबाट २६ लाख ६२ हजार २०० रुपियाँ, भिन्डीबाट ११ लाख ७३ हजार रुपियाँसहित अन्य हरियो तरकारी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् ।
त्यस्तै चैत महिनामा लालबन्दी बजारमा किसानले नौँ करोड १८ लाख ८३ हजार ४२५ रुपियाँको तरकारी बिक्री गरेका छन् । चैत महिनामा पनि सबैभन्दा धेरै गोलभेँडा मात्रै चार करोड ४२ लाख दुई हजार ६०० रुपियाँको बिक्री भएको छ ।
यो महिनामा किसानले एक करोड नौ लाख ७५ हजार ५०० रुपियाँको सिमी, ६४ लाख ३० हजार रुपियाँको हरियो खुर्सानी, ४३ लाख ४८ हजार १२५ रुपियाँको भान्टा, २५ लाख ७० हजार रुपियाँको परबलसहित अन्य हरियो तरकारी बेचेका छन् ।
लालबन्दी बजारमा किसानले ल्याएर बिक्री गर्ने तरकारी अहिले काठमाडौँको कालिमाटी र बल्खु तरकारी बजारसहित नारायणघाट, पोखरा, गौर, चपुर, मलङ्गवा, जनकपुर, सिन्धुलीसहित पहाडी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुसम्म पनि पुग्ने गरेको कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए ।
लालबन्दी बजारमा किसानले बेचेको तरकारी व्यापारीले मोटरसाइकलमा राखेर सर्लाहीको सीमावर्ती क्षेत्रमा लाग्ने हाटबजार र सिमापारी सोनवर्षाको बजारसम्म पनि पुर्याउने गरेका छन् ।
लालबन्दी बजारमा सर्लाहीको आधादर्जन भन्दा बढी पालिका र महोत्तरीको बर्दिवास तथा गौशाला नगरपालिकाका किसानले समेत आफूले फलाएको तरकारी ल्याएर बिक्री गर्ने गरेका छन् ।