logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा आठ हजार बढी बालबालिका विद्यालय बाहिर


  • उज्यालो अभियान

बसबरिया गाउँपालिकास्थित भवानीपुर मुसहर बस्तीमा खेलिरहेका मुसहर बालबालिका । (तस्बीर : उज्यालो अभियान)

मलंगवा, १२ बैशाख – सर्लाहीमा अझै आठ हजार भन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाको तथ्याङ्क अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यार्थी भर्ना अभियान जारी रहँदा ती बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

विद्यालय भर्ना हुने उमेर पुगिसकेका पाँच वर्षदेखि १२ वर्षसम्मका आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका पाइएको शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले जानकारी दिए । यि बालबालिका इँटा भट्टा, मोटरसाइकल ग्यारेज, यातायातका साधन, होटललगायतमा श्रम गरिरहेका छन् ।

विद्यालय बाहिर रहेका बालबालिकामध्ये चार हजार ४८० जना बालक र तीन हजार ७९७ जना बालिका रहेका छन् । यि मध्ये पनि सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका रहेका पाइएको छ ।

जिल्लामा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा बालबालिका विद्यालय बाहिर रहेका छन् । जिल्लामै सबैभन्दा बढी वडा अर्थात् १९ वटा वडा रहेको बरहथवामा ३६९ जना बालक र ४६३ जना बालिका विद्यालय बाहिर रहेका छन् ।

सबैभन्दा कम जिल्लामै सानो पालिकाको रुपमा छ वटा वडामात्रै रहेको पर्सा गाउँपालिकामा १२७ जना बालक र ११५ जना बालिका विद्यालय बाहिर रहेका छन् । ४४२ वटा सामुदायिक विद्यालय रहेको सर्लाहीमा शैक्षिक सत्र २०८० को तथ्याङ्क अनुसार बालविकासदेखि कक्षा १२ सम्म एक लाख एक हजार ४३३ जना छात्रा र ९० हजार २६७ जना छात्र विद्यालयमा भर्ना भएका छन् ।

यसैबीच सर्लाहीका पाँच वटा पालिकाले यो वर्ष पाठ्यपुस्तक खरिदका लागि अझै रकम निकासा गर्न सकेका छैनन् । जिल्लाको कविलासी, हरिपूर्वा र गोडैता नगरपालिका तथा धनकौल र चन्द्रनगर गाउँपालिकाले बजेट निकासा नगर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

अन्य पालिकाहरुले भने पाठ्यपुस्तकको रकम निकासा गरेकाले विद्यार्थी भर्ना अभियानसँगै निःशुल्क पाठ्यपुस्तक वितरण भइरहेको छ ।