logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हात्तीपाइलेको औषधि सेवन अभियान : सबैले खाएर संक्रमणबाट जोगिनुपर्नेमा जोड


  • उज्यालो अभियान

हरिवन, ९ बैशाख – कुनै भ्रम र अन्यौलमा नपरी हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरी रोगबाट बच्नुपर्नेमा आज हरिवनमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

हरिवन नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाले नगरपालिकाको सभा हलमा आयोजना गरेको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानबारे आयोजित पालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय १ दिने गोष्ठीमा सहभागीहरुले सबैले औषधि खानुपर्ने र छरछिमेकीलाई पनि औषधि खान पोत्साहन गर्नुपर्नेमा जोड दिएका हुन् । अन्य पालिकामा झैँ हरिवनमा पनि वैशाख १६ गतेदेखि २९ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान संचालन गर्दै छ ।

गोष्ठीमा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले भ्रम त्यागेर औषधि सेवन गरी हात्तीपाइलेबाट जोगिनुपर्ने बताएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटाले सरकारको लक्ष्य हात्तीपाइले निर्मुल पार्ने रहेकाले अभियानलाई साथ दिँदै औषधि सेवन गरी संक्रमणमुक्त हुनुपर्नेमा जोड दिएका छन् ।

इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले समाजका शिक्षित र अगुवा व्यक्ति नै अनेक हल्लाको पछि लागेर औषधि नखाने र भ्रम फैलाउने काममा सरिक हुने गरेको भन्दै त्यसलाई त्यागेर सबै मिलेर औषधि सेवन गर्नुपर्ने बताए ।

हरिवन ४ का वडाध्यक्ष केशवराज थापाले गत वर्षजस्तै यो वर्ष पनि आफूहरुले सबैको अगाडि हात्तीपाइलेविरुद्धको औषधि खाने र वडावासीलाई औषधि खान आग्रह गर्दै हिँड्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले हात्तीपाइलेबाट जोगाउन सरकारले आम नागरिकलाई औषधि सेवन गराउन ल्याएको अभियान आ–आफूले औषधि खाएर सफल पार्नुपर्ने जोड दिए ।

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानबारे हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरी र सासापुर स्वास्थ्य चौकीका डा. आलोक झाले प्रष्ट पारे । स्वास्थ्य शाखा संयोजक चौधरीले हरिवन नगरभित्र ४८ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको बताए ।

हात्तीपाइलेविरुद्धको औषधि दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, सिकिस्त बिरामी, अस्पताल भर्ना भएका बिरामी, जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीले र मिर्गौला रोगको लागि डायलाइसिस गरिरहेका बिरामीले मात्रै खान हुँदैन ।

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउँछ । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्छ ।

गाउँ, बस्तीमा एक व्यक्तिले औषधि नखाइदिँदा अन्य व्यक्तिमा हात्तीपाइले सार्ने जोखिम हुने भएकाले आफू र आफ्ना छरछिमेकी सबैलाई औषधि खान प्रोत्साहन गर्नुपर्ने चिकित्सकको भनाई छ ।

हात्तीपाइलेविरुद्धको औषधि खाएपछि केही व्यक्तिमा ज्वरो आउने, वान्ता हुने, रिङ्गटा लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने चिकित्सकले बताएका छन् ।

हात्तीपाइले रोगविरुद्ध आइभरमेक्टिन, डाइइथाइल कार्वामाजिन र अल्बेन्डाजोल गरी तीनप्रकारका औषधि प्रयोग हुन्छन् ।