मलंगवा, ७ बैशाख – सर्लाही सदरमुकाम मलङ्गवा नगरपालिका–७, स्थित मुसैलीमा सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम राख्न पाँच बुदे सहमती गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मलङ्गवामा गएसाँझ अबेरसम्म दुवै पक्षका अगुवालाई राखेर मुसैलीमा सिर्जित असहज परिस्थितिको विषयमा सुक्ष्म तथा गहन रुपमा छलफल गरी पाँच बुदे सहमती गराइएको हो । छलफलमा हिन्दु र मुस्लिम दुवै समुदायका अगुवाले सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा खलल पुग्ने गरी कुनै पनि गतिविधि नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्ता गतिविधि भएमा सो को जिम्मेवारी स्वंयम हुने र कानून बमोजिम कारवाही भोग्न तयार हुने सहमती गरिएको छ ।
यस्तै शान्ति सुरक्षा कायम गर्न सबै पक्षले आ–आफ्नो दायित्व इमान्दारिताका साथ निर्वाह गरी सुरक्षा निकायलाई सहयोग गर्ने, सामाजिक सद्भाव विगार्ने खालका घटना घटाउने जो कोहीलाई कडा भन्दा कडा कानूनी कारवाही गर्ने कार्यमा सहयोग गर्ने, स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही गर्ने गरी कुनै पनि सरकारी, सार्वजनिक वा व्यक्तिगत सवारी साधन, घर वा सम्पत्तिमा हानी नोक्सानी पुर्याए क्षति पुर्याउने व्यक्ति वा आयोजकबाट असुल गर्ने सहमती गरिएको छ ।
त्यस्तै सामाजमा घट्ने कुनै पनि किसिमका असामाजिक/अमर्यादित/अवाञ्छित क्रियाकलापको निगरानी गरी सो को सूचना प्रशासनलाई दिइ शान्ति सुरक्षा कायम गर्न दुवै पक्षका तीन–तीन जना रहने गरी समिति गठन गर्ने र उक्त समितिले आ–आफ्नो पक्षका दोषी व्यक्तिको बारेमा सूचना दिएर कानूनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्ने निर्णय गरिएको छ । उक्त समितिमा हिन्दु पक्षबाट नरेन्द्र राय, राजनारायण राय यादव र खेनारी राय तथा मुस्लिम पक्षबाट मोहम्मद अकबर हुसैन, मोहम्मद मोमताज र मोहम्मद लतिफ रहेका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षमा जिल्लाका सुरक्षा प्रमुखहरु बसेर दुवै पक्षबिच छलफल गराई पाँच बुदे सहमती गराएका हुन् । बुधबार साँझको विवादपछि मुसैलीमा अहिले पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा पहरा दिने काम भइरहेको जिल्ला प्रशासन कार्यालय मलङ्गवाले जनाएको छ ।