ईश्वरपुर १२ स्थित जनता प्राथमिक विद्यालय नयाँटोलमा विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिँदै ।
चन्द्रनगर, ६ बैशाख – पालिकाले समयमै बजेट निकासा नगर्दा सर्लाहीका केही स्थानीय तहमा पाठ्यपुस्तक वितरण हुन सकेको छैन् ।
भर्खरै बजेट ल्याएका र जनप्रतिनिधिबिच विवाद रहेका यहाँका केही पालिकाले विद्यार्थीलाई समयमै पाठ्यपुस्तक दिन नसकेका हुन् । पालिकाले विद्यालयको खातामा रकम पठाइसकेको ठाउँमा भने धमाधम पाठ्यपुस्तक बाँड्ने काम भइरहेको छ ।
लामो सङ्घर्षपछि गएको फागुन ७ गते चालू आर्थिक वर्षको बजेट पारित गरेको हरिपूर्वा नगरपालिकाले विद्यालयहरुलाई पाठ्यपुस्तक खरिदको रकम निकासा गर्न सकेको छैन् । पालिकाबाट बजेट प्राप्त नभए पनि पुस्तक पसलसँग उद्यारोमा पुस्तक ल्याएर विद्यार्थीलाई बाँड्न सुरु गरेको हरिपूर्वा नगरपालिका–९ स्थित रामजानकी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष ठाकुरले बताए ।
“पालिकाबाट बजेट निकासा भएपछि भुक्तानी दिने शर्तमा जलेश्वरदेखि किताब मगाएर बाँडिरहेका छौँ,” उनले भने “उद्योरामा मगाएकोमध्ये केही पुस्तक अभाव भएको छ ।” प्रधानाध्यापक ठाकुरले पुस्तक अभावकैबिच विद्यार्थी भर्ना अभियान अघि बढाउने तयारी गरिएको बताए ।
हरिपूर्वाका अधिकांश विद्यालयले बजेट अभावमा पाठ्यपुस्तक बाँड्न सकेका छैनन् । १० दिनअघि चैत २५ गते मात्रै बजेट पारित गरेको चन्द्रनगर गाउँपालिकामा पनि पाठ्यपुस्तक वितरण र भर्ना अभियान दुवै अनिश्चित बनेको छ ।
चन्द्रनगर गाउँपालिका–३ स्थित श्रीराम जनता निम्न माध्यमिक विद्यालय बडकुर्वाका प्रधानाध्यापक सरोज सिंहले विद्यालयको खातामा रकम नआएकाले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्न नसकेको बताए । “पाठ्यपुस्तक वितरण र भर्ना अभियान सञ्चालन गर्न पालिकाको शिक्षा शाखाले कुनै समन्वय गरेको छैन्,” नेपाल शिक्षक महासङ्घको गाउँपालिका समितिका अध्यक्ष समेत रहेका सिंहले भने, “विद्यालयको खातामा बजेट नै निकासा नभएकाले अन्यौलमा परेका छौँ ।”
जिल्लाको धनकौल गाउँपालिकाले पनि पाठ्यपुस्तक खरिदको रकम निकासा नगर्दा पालिकाभित्रका सामुदायिक विद्यालय समस्यामा परेका छन् । गाउँपालिकाको शिक्षा शाखाका प्रमुख युक्ति रामले बिचमा केही समय लेखापाल कार्यालयमा नहुँदा पाठ्यपुस्तकको रकम निकासा हुन नसकेको बताए ।
“हाम्रोमा अन्य कुनै समस्या छैन्, लेखापाल नहुँदा समस्या भएको हो,” शिक्षा अधिकृत रामले भने,“ लेखापाल आइसकेकाले अब एक÷दुई दिनभित्रमा सबै विद्यालयमा रकम पठाएर पाठ्यपुस्तक बाँड्न सुरु गर्छौँ ।” पालिकाबाट रकम निकासा पाइसकेका विद्यालयले भने धमाधम पाठ्यपुस्तक वितरण गरिरहेका छन् ।
ईश्वरपुर नगरपालिका १२ कालिन्जोरस्थित जनता प्राथमिक विद्यालय नयाँटोलका प्रधानाध्यापक निरबहादुर कार्कीले विद्यार्थीलाई धमाधम पुस्तक वितरण गरिरहेको जानकारी दिए । “नगरपालिकाले विद्यालयको खातामा पैसा पठाइसकेकाले विद्यार्थीलाई पाठ्यपुस्तक दिइसकेका छौँ,” कार्कीले भने, “भर्ना अभियान सँगसँगै किताब पनि बाँडिरहेका छौँ ।”
जनक शिक्षा सामग्रीले वितरक हुँदै पुस्तक पसलमा पठाउने पाठ्यपुस्तक विद्यालयहरुले पालिकाबाट बजेट लिएर खरिद गरी विद्यार्थीलाई बाँड्ने प्रावधान छ । तर, जिल्लाका अधिकांश पालिकाले विद्यालयलाई बेलैमा रकम निकासा गर्न बेवास्ता गर्दा विद्यार्थीहरु समयमै पाठ्यपुस्तक पाउनबाट बञ्चित भएका हुन् ।