विद्यालय भर्ना हुने बालबालिका खोज्दै लालबन्दी ९ को डोम बस्तीका पुगेका जनज्योति नमूना माध्यमिक विद्यालयका शिक्षक ।
लालबन्दी, ५ बैशाख – “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने नारासहित सर्लाहीका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना अभियान संचालन गरेका छन् ।
जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरु विद्यार्थी खोज्दै घरघरमा पुग्न थालेका हुन् । विशेष गरी मुसहर, डोम, चमारसहितका पिछडिएको दलित बस्ती र विद्यालय बाहिर बालबालिका धेरै रहेका गाउँलाई प्राथमिकतामा राखेर विद्यार्थी भर्ना अभियान संचालन गरिएको छ ।
बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज यादवले विद्यालयसँगै टाँसिएको मुसहर बस्ती र छेउछाउका अन्य गाउँमा समेत विद्यालयमा भर्ना हुने उमेर पुगिसकेका बालबालिकालाई भर्ना गराउन अनुरोध गर्दै घरघरमै पुगेर अभिभावकलाई सम्झाइबुझाई गरिरहेको बताए । उनले अभिभावकमा चेतनाको कमी र गरिबीका कारण मुसहरसहित केही पिछडिएको समुदायका बालबालिकालाई विद्यालयसम्म भर्ना गराउन ल्याउन र बल्लतल्ल भर्ना गराएपछि पनि टिकाइ राख्न समस्या रहेको बताए ।
सरस्वती माध्यमिक विद्यालय ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका प्रधानाध्यापक सीताराम दाहालले विद्यार्थी भर्ना अभियानका क्रममा धेरै हदसम्म विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन सफल भइरहेको बताए । कतिपय बस्तीमा विद्यालय भर्ना हुने भएका बालबालिकाको त्यहीँ गएर नामावली तयार पारेर ल्याउने गरिएको विद्यालयहरुले जनाएका छन् ।
शिक्षकका अनुसार इँटा भट्टामा काम गर्न जाने बालबालिकालाई भने विद्यालयमा भर्ना गराउन अत्यन्त समस्या पर्ने गरेको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेका धेरै बालबालिका अहिले विद्यार्थी भर्ना अभियान चलिरहेकै बेला आमाबुवासँगै इँटा भट्टामा काम गर्न गइरहेका छन् ।
बरहथवा नगरपालिकाको शिक्षा शाखाका अधिकृत अनिलकुमार साहले नगरका सम्पूर्ण सामुदायिक विद्यालयलाई विद्यालय बाहिर रहेका सम्पूर्ण बालबालिकालाई भर्ना गराउने गरी अभियान सञ्चालन गर्न निर्देशन दिएको बताए । व्यवस्थापनमा सुधार र अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुन थालेपछि पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।
जनज्योति नमूना माध्यमिक विद्यालय लालबन्दी, जानकी माध्यमिक विद्यालय लालबन्दी, महादेव जनता नमूना माध्यमिक विद्यालय हरिवन, नारायण माध्यमिक विद्यालय ईश्वरपुरसहितका केही सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप थेग्नै नसक्ने हुने हुँदा प्रवेश परीक्षा लिएर विद्यार्थी छनौट गरी भर्ना गर्ने गरिएको छ ।
विद्यालय भर्ना हुने बालबालिका खोज्दै लालबन्दी ९ को डोम बस्तीका पुगेका जनज्योति नमूना माध्यमिक विद्यालयका शिक्षक ।