बयलवास, ३ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित बयलवासमा रहेको नगर अस्पतालमा आजबाट २४ सैँ घण्टा आकस्मिक (ईमरजेन्सी) सेवा सुरु गरिएको छ ।
अस्पतालमा यसअघि कार्यालय समयभित्र मात्रै बिरामीको उपचार हुँदै आएको थियो । आजदेखि भने २४ सैँ घण्टा आकस्मिक सेवा दिन सुरु गरिएको मेयर मनोजकुमार आचार्यले जानकारी दिए ।
मेयर आचार्यले सडक दुर्घटनाका घाइते तथा अन्य आकस्मिक घटनाका बिरामीलाई उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी २४ सैँ घण्टा आकस्मिक सेवा प्रारम्भ गरिएको बताए । आकस्मिक सेवा सुरु गर्न अस्पताललाई केही दिनअघि हेल्पिङ ह्याण्ड नामक संस्थाले २१ लाख बराबरको स्वास्थ्य सामग्री र औषधि प्रदान गरेको थियो ।
ती सामग्रीले पनि अस्पताललाई २४ सैँ घण्टा आकस्मिक सेवा प्रदान गर्न सहज भएको छ ।
अस्पतालका इन्चार्ज डा. दिर्घनारायण दासले २४ सैँ घण्टा सेवा प्रदान गर्न उपलब्ध स्वास्थ्यकर्मीहरुलाई तीन सिफ्टमा डिउटी खटाइएको बताएका छन् ।