हरिभवन, १ वैशाख – सर्लाहीको लालबन्दी नगरपालिका–४, हरिभवनमा आजबाट दुध सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ ।
साना किसान कृषि सहकारी संस्था हरिभवनले स्थानीय पशुपालक किसानले उत्पादन गरेको दुध गाउँघरमै खरिद गरिदिने व्यवस्था मिलाएको हो । दुध सङ्कलन केन्द्रको नगरप्रमुख बासुदेव अधिकारीले उद्घाटन गरेका छन् ।
संस्थाका अध्यक्ष दशरथ चौधरीले दैनिक ११ हजार लिटर दुध खरिद गर्ने क्षमतासहित दुध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको बताए । संस्थाले पशुपालक किसानलाई नौ प्रतिसत ब्याजदरमा ऋण प्रवाह गर्दै आइरहेको छ भने गाई, भैँसीलाई खुवाउने दाना उद्यारोमा दिँदै आएको छ ।
किसानले आफूहरुले उत्पादन गरेको दुध पनि संस्थाले किनिदिए ऋण बुझाउन सहज हुने भन्दै बारम्बार आवाज उठाएपछि संस्थाले दुध सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरेको अध्यक्ष चौधरीले जानकारी दिएका छन् । उत्पादित दुध अब सहकारी आफैले किनिदिने भएपछि पशुपालक किसान खुसी भएका छन् ।
संस्थाले सङ्कलित दुध लालबन्दी बजारमा डिलर राखेर बिक्री गर्ने र बिक्री गरेर बाँकी भएको दुध दुग्ध विकास संस्था (डिडिसी) लाई बिक्री गर्ने लक्ष्य लिएको छ ।
दुग्ध सङ्कलन केन्द्रको उद्घाटन कार्यक्रममा नगरप्रमुख अधिकारी, निवर्तमान नगरप्रमुख मानबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, भेटेरिनरी तथा पशु स्वास्थ्य शाखाका प्रमुख सुरेन्द्र भारतीलगायतले गाई, भैँसीपालक किसानलाई गाउँमा खुलेको दुध सङ्कलन केन्द्रमा दुध बिक्री गरेर आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।