कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाद प्रसाईं तथा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, २६ चैत – जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखबाट सरुवा भएका प्रहरी उपरीक्षक(एसपी) दयानिधी ज्ञवालीले आफू प्रश्नै प्रश्नको भारी बोकेर काठमाडौं जान लागेको बताएका छन् ।
आईतबार जिल्ला प्रहरी कार्यालय मलंगवा परिसरमै आयोजित बिदाई कार्यक्रममा भावुक हुँदै एसपी ज्ञवालीले त्यस्तो कुरा बताएका हुन् । ‘संगठनको मर्म अनुसार काम गरिरहेको थिएँ, अपराध नियन्त्रणमा म सहित मेरो टिमले छोटो समयमै उल्लेख्य प्रगति हाँसिल गरिरहेको थियो’, एसपी ज्ञवालीले भने, ‘तर किन हठात सरुवा भयो मैले बुझ्नै सकेको छैन, त्यसैले यस्ता अनुत्तरित प्रश्नहरुको भारी बोकेर जाँदैछु, तथापी विभागले म सहित अन्य एसपी साबहरुलाई सरुवा गरेपनि मलाई मात्र कमाण्ड टु कमाण्डको जिम्मेवारी दिएको छ, अब नयाँ जिम्मेवारीमा पनि उच्च मनोबल सहित काम गर्ने नै छु ।’
विशेषगरी सर्लाहीमा आर्थिक अपराधतर्फ हुण्डीको कारोबार गर्नेहरु धमाधम पक्राउ परिरहेको र अझै गिरोह नै नियन्त्रणमा लिने गरी सूचनाहरु प्राप्त भईसकेको समेत दाबी गरे । ‘आउने नेतृत्वले त्यसतर्फ गम्भिर ढंगले कारबाही प्रकृया अगाडी बढाओस् र अपराध नियन्त्रणमा उल्लेख्य प्रगति हाँसिल गरोस्’, उनले भने, ‘आवश्यक ठानेमा मसँग आएका गोप्य सूचनाहरु दिएर सर्लाहीको अपराध नियन्त्रणमा हरसम्भव सहयोग गर्नेछु ।’ सर्लाहीमा कर्तव्य निर्वाह गर्ने क्रममा अत्यन्त सद्भावपूर्ण सहयोग अनि सरसल्लाह दिने सम्पूर्ण सर्लाहीबासीप्रति आफू नतमस्तक रहेको उल्लेख गर्दै एसपी ज्ञवालीले हार्दिक आभार प्रकट गरे ।
कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका पूर्व मेयर गणेश प्रसाद प्रसाईंले सुरक्षा संगठनको जिल्ला प्रमुखलाई डेढ महिनामै सरुवा गर्नु गृह प्रशासन नेतृत्वको अत्यन्त उट्पट्याङ कार्य भएको बताए । ‘यसरी जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएर आउने प्रहरी अधिकारीलाई हठात सरुवा गर्नु गृह प्रशासन एवं नेपाल प्रहरी नेतृत्वको उट्पट्याङ काम हो’, सत्ताधारी नेकपा एमालेका नेता समेत रहेका प्रसाईंले भने, ‘नेतृत्व तहबाट हुने यस्ता गलत निर्णयले राष्ट्रसेवकहरुको मनोबल गिर्दै जाने निश्चित हुन्छ ।’
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्रीले सर्लाहीमा पछिल्लो समय नेपाल पहरीको जिल्ला प्रमुखमा अस्थिरता बढेको र यसले सुरक्षा व्यवस्थामा दिर्घकालिन असर पर्न सक्ने विचार व्यक्त गरे । ‘पछिल्लो समय सर्लाहीमा नेपाल प्रहरीको नेतृत्व हठात ढंगले परिवर्तन भईरहेको छ, गृह प्रशासन वा नेपाल प्रहरीको केन्द्रीय नेतृत्वबाट हुने यस्ताखाले कामले जिल्लाको सुरक्षा व्यवस्थामा चुनौतीहरु बढ्न सक्छ’, अध्यक्ष क्षेत्रीले भने, ‘एउटा कमाण्डरले जिम्मेवारी सम्हालेर जिल्लाको अवस्था बुझ्दा नबुझ्दै सरुवा गर्नु न्यायसंगत हुँदैन र सकृय ढंगले काम गरिरहेको अवस्थामा कारबाही जस्तो बुझिने गरि हठात सरुवा हुँदा राष्ट्रसेवकहरु काम गर्ने जाँगरहरु हराउदै जानेछ ।’ सामान्यतया कम्तिमा १ वर्षको जिम्मेवारी सहित सर्लाही प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्ने एसपीहरुको समयावधीपछिल्लो समय ९ महिनाबाट ३ महिना हुँदै डेढ महिनामा झारेर गृह प्रशासन तथा नेपाल प्रहरीको केन्द्रीय नेतृत्वले शान्ति सुरक्षाको मुख्य जिम्मेवारी बोकेको नेपाल प्रहरी सर्लाही प्रमुखलाई मुलुकमा जारी राजनैतिक अस्थिरता जस्तै गरि पंगु बनाउन खोजिएको आभास भएको अध्यक्ष क्षेत्रीको कथन थियो ।
कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य सहित विभिन्न राजनैतिक दलका नेताहरु, सर्लाही ट्रक व्यवसायी संघका अध्यक्ष राम बहादुर दवाडी, सुनचाँदी व्यवसायी संघका अध्यक्ष निरञ्जन साह, नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष रोशन कुमार न्यौपाने सहित पत्रकारहरु, उद्योगी व्यापारीहरु, जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी नायव उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठ सहित जिल्ला स्थित विभिन्न ईकाई प्रमुख रहेका सुरक्षा अधिकृतहरु लगायतको उपस्थिती रहेको थियो ।
गत फागुन ७ गतेमात्र सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी ज्ञवालीको गत शुक्रबार अर्थात चैत २३ गते नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल काठमाडौं सरुवा भएको हो । यसअघिका एसपी प्रविण धितालको पनि जिम्मेवारी सम्हालेको ३ महिनामै सरुवा भएको थियो ।
एसपी ज्ञवालीले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगतै दुईजना भारतीय ‘खुंखार’ अपराधीहरु पक्राउ परेका थिए भने विभिन्न अदालतबाट दोषी भई फरार रहेका २०२ जना अपराधीलाई एकै पटक नियन्त्रणमा लिएर सर्लाही जिल्ला अदालतमा पेश गरिएको थियो । त्यस्तै हुण्डी कारोबारी पनि धमाधम पक्राउ पर्न थालेका थिए भने एक वृद्धाको हत्या भएपछि आफै घटनास्थलमा खटिएर गम्भिर ढंगले अनुसन्धानको नेतृत्व गरेर घटना भएको ६ घण्टामै हत्यामा संलग्न आरोपीलाई पक्राउ गरेका थिए । त्यस्तै भारतमा लगेर नेपालीहरुलाई अपहरण गर्ने र फिरौती संकलन गर्दै आएको एक गिरोहलाई समेत एसपी ज्ञवालीकै सकृयतामा नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडी बढेको छ ।
ज्ञवाली आईतबार दिउँसो नै काठमाडौंतर्फ लागेका छन् । सर्लाही प्रमुखको रुपमा खटाईएका एसपी रविन्द्र बहादुर सिंह केही दिनभित्रै जिम्मेवारी सम्हाल्न आउने जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।