लालबन्दी, २६ चैत – सर्लाहीको लालबन्दीमा आज १०८ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब लालबन्दी सिटीले नगरपालिका कार्यालयसहित अन्य विभिन्न संघसंस्थासँग समन्वय गरी लालबन्दी ७ स्थित एनसेल सप अगाडि आयोजना गरेको रक्तदानमा १०८ जनाले रक्तदान गरेका आयोजक क्लबका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए ।
न्यौपानेले लालबन्दीको नगर अस्पताल डुमडुमेको ब्लड बैंकका लागि रगत प्रदान गर्ने उद्देश्यले रक्तदान गरिएको बताएका छन् । नगर अस्पतालले एक महिनाअघि देखि अप्रेसन गरेर प्रसुति गराउन थालेको छ । त्यसका लागि रगतको अभाव नहोस् भन्ने उद्देश्यले लायन्स क्लबले राखेको रक्तदानमा उल्लेख्य संख्यामा मनकारीहरु सहभागी भएर रक्तदान गरेका हुन् ।
रक्तदान गरेकाहरुलाई मेयर बासुदेव अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेलगायत सामेल भएर प्रमाण-पत्र वितरण गरेका छन् ।
लान्यस क्लब लालबन्दी सिटीले यसरी पटक–पटक रक्तदान कार्यक्रम गरेर रगत आवश्यक परेका व्यक्तिहरुको अभाव टार्न टेवा पुर्याउँदै आएको छ ।