logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सुक्खा हावाले गहुँ बाली सुकायो


  • उज्यालो अभियान

कविलासी, चैत २३ – सुक्खा हावा चलेर गहुँ बाली सुकाउन थालेपछि सर्लाहीका किसान चिन्तित बनेका छन् ।

केही दिनअघि पानी परेपछि गहुँ बालीलाई निकै फाइदा पुगेपनि अहिले फेरि तीव्र गतिमा सुक्खा हावा चल्दा पाक्ने बेला हुन लागेको गहुँ बाली प्रभावित भएको हो । धनकौल गाउँपालिका–२, का किसान रामकल्याण यादवले यसैगरी हावा चलिरहे भर्खरै दाना पस्न लागेको गहुँ बाली उत्पादनमा ठूलो असर पुग्ने गुनासो गरेका छन् ।

बेलैमा रोपिएको गहुँ पाक्ने बेला भएपनि ढिलो गरी रोपिएको गहुँमा अहिले भर्खर दाना लाग्न थालेको छ । यो हावाले घोगा लाग्न लागेका मकै, तरकारी र अन्य बालीनाली समेत सुकाउने किसानले बताएका छन् ।

सर्लाहीको उत्तरी भेगका लालबन्दी, हरिवन, बागमतीसहित पूर्व–पश्चिम राजमार्ग क्षेत्र आसपास गएको अघिल्लो शनिबार साँझ असिनासहितको पानी र हावाहुरीले समेत केही मात्रामा बालीनालीमा क्षति पुर्याएको थियो । असिनाले देशैकै सबैभन्दा ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्रमा १० देखि १५ प्रतिसत आँप र लिचीको भर्खरै लागेको चिचिला झारेको केन्द्रले जनाएको छ ।

केन्द्रका निमित्त प्रमुख रामकुमार महतोले असिना पानीले केही मात्रामा क्षति गरेको र अब अहिले जस्तै गरी सुक्खा हावा बढे थप क्षति हुन सक्ने बताए । उनका अनुसार यो वर्ष बागवानी केन्द्रमा आँपको किचिला कम लागेको छ ।

बागवानीको लिची भने यो वर्ष ठेक्का लागिसकेको छ । केन्द्रको लिची अहिलेसम्मकै सबैभन्दा बढी मूल्य २७ लाख १५ हजार रुपियाँमा फल फल्नुभन्दा अगाबै ठेक्का लागिसकेको हो ।

केन्द्रको आँप भने ठेक्का लाग्न बाँकी नै छ ।